काठमाडौं - दाङका कुखुरा किसानहरुको सक्रियताको कारण अण्डा उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा उचित बजारीकरणको अभावमा उत्पादन घटेर एक हजार कार्टुनमा सीमित भएको थियो । अहिले किसान सङ्गठित भएर बजारीकरणमा जुटेपछि उत्पादन पुनः बढेर दैनिक दुई हजार ५०० कार्टुनभन्दा बढी पुगेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष ईश्वरप्रकाश श्रेष्ठले किसान सङ्गठित भई उत्पादनको बजारीकरण गर्न थालेपछि अण्डा उत्पादन बढ्न थालेको जानकारी दिए।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष ईश्वरप्रकाश श्रेष्ठका अनुसार किसानहरू सङ्गठित नहुँदा अण्डा न्यून मूल्यमा बिक्री गर्नुपर्ने अवस्था थियो। यसले किसानलाई लामो समयसम्म घाटा व्यहोर्न बाध्य बनाएको थियो। अहिले किसानहरू सङ्गठित भएर बजारीकरणमा जुटेपछि उत्पादन क्रमशः बढ्न थालेको छ । एउटा कार्टुनमा २१० वटा अण्डा हुन्छन्। जिल्लामा लेयर्स कुखुराको सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ । सङ्घका सचिव रविन्द्रविक्रम केसीका अनुसार सङ्घमा १५० भन्दा बढी किसान आबद्ध छन् । हरेक वर्ष ४५ जनाभन्दा बढी नयाँ किसान थपिने गरेका छन् ।
प्रतिक्रिया