काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
आज दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ । जारी प्रतियोगितामा लुम्बिनी अपराजित रहँदै तीन खेलबाट पाँच अंक जोडेर शीर्ष स्थानमा छ । तीन खेलमध्ये दुईमा जित निकालेको लुम्बिनीको एक खेल भने नतिजाविहीन भएको थियो ।
यता, जनकपुरले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ । चार अंक जोडेको जनकपुर अंक तालिकाको चौथो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको लुम्बिनीलाई रोक्ने चुनौती जनकपुरसामु हुनेछ ।
त्यस्तै, आज साँझ हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् । चार खेल खेलेको विराटनगरले दुईमा जित र दुईमा हार बेहोरेको छ । चार अंकसहित विराटनगर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
काठमाडौं गोर्खाजले भने दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । दुई अंक जोडेको काठमाडौं अंक तालिकाको सातौँ स्थानमा छ । आजको खेल जित्दै दुवै टोली अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा हुनेछन् ।
प्रतिक्रिया