फाइल फोटो
झापा– मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल छिर्ने र स्थानीयवासीको घर भत्काउने पाकेको धान खाने गर्न थालेपछि भारततर्फ हात्ती फर्काउन बुधबारदेखि नै सुरक्षा सतर्कता उच्च पारिएकोे जानकारी दिनुभयो ।
हात्तीको प्रवेशलाई पूर्ण रूपमा रोक्न र सम्भावित क्षति जोगाउन सशस्त्र प्रहरी बल नेपाल बिओपी बाहुनडाँगी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, ¥यापिड रेस्पोन्स टिमलगायत विभिन्न सङ्घसंस्था र स्थानीय किसानहरू सक्रिय रूपमा परिचालन भएका छन् ।
सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयवासीले हात्तीलाई नेपालतर्फ प्रवेश गर्न नदिन विभिन्न उपकरण र सवारीसाधनको प्रयोग गरी निगरानी तथा रोकथामको कार्य गरिरहेका छन् ।
रोकथाम तथा नियन्त्रणका लागि १० भन्दा बढी साना माइकसहितका साइरन, सशस्त्र प्रहरी बलका दुईवटा ठूला साइरन, वन कार्यालय र सशस्त्र प्रहरी बलका एक–एकवटा साइरन जडित सवारीसाधन, नेपाल प्रहरीको एउटा ठूलो साइरन तथा ९० भन्दा बढी ठूला लाइट प्रयोगमा ल्याइएको छ ।
त्यसैगरी, गस्ती र निगरानीलाई प्रभावकारी बनाउन तीनवटा ट्याक्टर तथा १० भन्दा बढी मोटरसाइकल पनि परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । सम्भावित जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दालाई पर्याप्त सुरक्षा सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।
प्रतिक्रिया