अपडेट

छठघाटमा पूजा सामग्री कुर्दै बसेका ६० वर्षीय वृद्ध मृत फेला, मृत्यु शंकास्पद

सोमबार, ३० कार्तिक २०८३, १० : २४

काठमाडौं- धनुषामा छठ पर्वका लागि पूजा सामग्री कुरेर छठघाटमै रात बिताइरहेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। शहीदनगर नगरपालिका–२ निवासी ६० वर्षीय रामजतन यादवको शव छठघाटमा शंकास्पद अवस्थामा भेटिएको हो।

‘मनेजर’ नामले चिनिने यादव गए राति मतौना गाउँदेखि पूर्वतर्फ रहेको शिव मन्दिरको प्राङ्गणमा निर्माण गरिएको छठघाटमा एक्लै बसेका थिए। उनी छठ पूजाका सामग्रीको रेखदेख गर्दै रातभर त्यहीँ बसेको बताइएको छ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार यादवको गालामा चोट लागेको र रगतसमेत देखिएको छ। चोटको प्रकृति र घटनास्थलको अवस्थाले उनको मृत्यु शंकास्पद देखिएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। यादवको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सोमबार, ३० कार्तिक २०८३, १० : २४

प्रतिक्रिया