‘एकैपटक सामूहिक गिरफ्तार गर’भन्दै सडकमै उत्रिए पत्रकार (तस्बिरसहित)

बुधबार, ०९ मंसिर २०८३, १३ : १४

काठमाडौं- पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको विरोधमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आज बबरमहलमा प्रदर्शन गरेको छ ।

‘पत्रकारलाई पटक–पटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने व्यङ्ग्यात्मक नारासहित महासंघले धर्ना कार्यक्रम आयोजना गरेको हो ।

धर्नामा सहभागी पत्रकारहरूले समाचार संकलन र सम्प्रेषणका क्रममा निर्वाध रूपमा काम गर्न पाउनुपर्ने माग गरेका छन् । समाचार लेखेकै विषयलाई लिएर केही समयअघि प्रहरीले पत्रकारहरूलाई पक्राउ गर्नुका साथै सञ्चारगृहभित्रै प्रवेश गरेर हस्तक्षेप गरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

महासंघले पत्रकारको पेसागत स्वतन्त्रता र सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ ।

बुधबार, ०९ मंसिर २०८३, १३ : १४

प्रतिक्रिया