हिम पर्वत हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै

बुधबार, ०९ मंसिर २०८३, १० : ३६

काठमाडौं- हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। 

कम्पनीले मंसिर १८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ । 

कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १६ लाख ९० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ४ लाख २२ हजार ५०० कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

कम्पनीले २ लाख ११ हजार २५० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरिसकेको छ भने १ लाख २६ हजार ७५० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखेको छ।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ३४ करोड ६४ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ६४ हजार ५०० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले छिटोमा मंसिर २३ गते र ढिलोमा पुस ३ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

बुधबार, ०९ मंसिर २०८३, १० : ३६

प्रतिक्रिया