एजेन्टिक एआईको सुरक्षित प्रयोगका लागि ईसी-काउन्सिल र वान कभरबीच सहकार्य

मंगलबार, ०८ मंसिर २०८३, १२ : ५१

काठमाडौं- कृत्रिम बौद्धिकता (एआई) प्रविधि साधारण च्याटबटबाट आफैँ निर्णय लिन र कार्य सम्पादन गर्न सक्ने एजेन्टिक एआई (Agentic AI) तर्फ अघि बढिरहेका बेला नेपाल तथा दक्षिण एसियाली संस्थाहरूमा एआई सुरक्षा र गभर्नेन्स प्रभावकारी बनाउने उद्देश्यले ईसी-काउन्सिल (EC-Council) र वान कभर प्रा.लि. (One Cover Private Limited) ले रणनीतिक पहल सुरु गरेका छन्।

संस्थाहरूमा एआईसम्बन्धी नीति निर्माण भए पनि त्यसको व्यावहारिक कार्यान्वयन र सुरक्षा व्यवस्थापनमा चुनौती देखिएकाले उक्त पहलले नीतिगत प्रतिबद्धतालाई वास्तविक सुरक्षा अभ्यासमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ।

ईसी-काउन्सिलका सार्क सिनियर कन्ट्री म्यानेजर श्रीकान्त अक्कुलाको प्रस्तावमा अघि बढाइएको यस पहललाई वान कभर प्रा.लि.का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत चिरन्जिबी अधिकारीसहित कम्पनीको गभर्नेन्स, रिस्क एन्ड कम्प्लायन्स (GRC) टोलीले प्राविधिक नेतृत्व प्रदान गर्नेछ।

यसअन्तर्गत ईसी-काउन्सिलको 'एडप्ट, डिफेन्ड, गभर्न' (Adopt, Defend, Govern–ADG) फ्रेमवर्क नेपालका उद्यम, बैंक तथा वित्तीय संस्था र सरकारी निकायमा कार्यान्वयन गरिनेछ। 

ईसी-काउन्सिलको ADG फ्रेमवर्क एजेन्टिक एआई प्रणालीको सुरक्षित सञ्चालन र व्यवस्थापनका लागि तयार गरिएको खुला तथा व्यावहारिक एआई गभर्नेन्स ढाँचा हो। यसले एआई नीति, प्राविधिक सुरक्षा र संस्थागत जवाफदेहितालाई एउटै संरचनामा समेट्छ।

फ्रेमवर्कमा एआई प्रणालीको डिजाइन, डेटा संकलन, विकास, सञ्चालन, रनटाइम सुरक्षा तथा फरेन्सिक अनुसन्धानसम्म समेट्ने १२ वटा कन्ट्रोल फेमिली रहेका छन्। त्यस्तै, १८० भन्दा बढी अपरेसनल कन्ट्रोल र ७२० भन्दा बढी प्राविधिक तथा नीतिगत आवश्यकताहरू समावेश छन्। यसका तीन प्रमुख आधारस्तम्भ रहेका छन्।

'एडप्ट' ले संस्थामा कुन एआई प्रणाली सुरक्षित रूपमा अपनाउन सकिन्छ भन्ने मूल्याङ्कन गर्छ भने 'डिफेन्ड' ले प्रम्प्ट इन्जेक्सन तथा साइबर आक्रमणजस्ता जोखिमबाट एआई प्रणालीलाई सुरक्षित राख्छ। त्यसैगरी, 'गभर्न' ले संस्थाको सञ्चालक समिति तथा नियामक निकायप्रति पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सहयोग गर्छ।

एआई गभर्नेन्स कार्यान्वयनका क्रममा संस्थाहरूले विभिन्न नियामक निकाय, आन्तरिक लेखापरीक्षक र सुरक्षा टोलीलाई एउटै विषयमा फरक–फरक मापदण्डअनुसार प्रमाण उपलब्ध गराउनुपर्ने चुनौती भोगिरहेका छन्। यसलाई सम्बोधन गर्न ADG फ्रेमवर्कले 'Evidence Once. Answer Many.' अवधारणा अघि सारेको छ। यसअन्तर्गत फ्रेमवर्कका १८० भन्दा बढी कन्ट्रोललाई ६ वटा क्षेत्रका ९० भन्दा बढी अन्तर्राष्ट्रिय मापदण्ड, कानुन तथा थ्रेट क्याटलगसँग आबद्ध गरिएको छ। यसमा NIST AI RMF, ISO/IEC 42001, EU AI Act, MITRE ATLAS, MITRE ATT&CK र OWASP Top 10 for LLM and Agentic Applications लगायतका अन्तर्राष्ट्रिय मापदण्ड समावेश छन्।

त्यस्तै, ADMIT, DECIDE, EMIT र COMMIT गरी चार रनटाइम चरणमार्फत एआई एजेन्टको पहिचान, समय, नीतिगत जाँच तथा मानवीय स्वीकृतिसम्बन्धी अभिलेख स्वचालित रूपमा सुरक्षित राख्ने व्यवस्था गरिएको छ। यसले अडिट तथा नियामकीय परीक्षणका बेला आवश्यक प्रमाण सहज रूपमा प्रस्तुत गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपालमा ३०, ६० र ९० दिनको कार्ययोजना यस पहलअन्तर्गत संस्थाहरूले आफ्नो विद्यमान प्रविधि संरचनामा ठूलो परिवर्तन नगरी एआई गभर्नेन्स कार्यान्वयन सुरु गर्न सक्नेछन्। ADG फ्रेमवर्कले संस्थाको वर्तमान अवस्था मूल्याङ्कन गरी ३०, ६० र ९० दिनको चरणबद्ध कार्ययोजना तयार गर्न सहयोग गर्नेछ।

श्रीकान्त अक्कुलाको प्रस्ताव तथा वान कभर प्रा.लि.को GRC टोलीको प्राविधिक नेतृत्वमा नेपाल र दक्षिण एसियाका संस्थाहरूले स्थानीय स्तरमै एआई गभर्नेन्स तयारी मूल्याङ्कन (Readiness Assessment), ग्याप एनालाइसिस तथा कार्यान्वयन परामर्श सेवा प्राप्त गर्न सक्नेछन्।

ईसी-काउन्सिलको अन्तर्राष्ट्रिय साइबर सुरक्षा तथा गभर्नेन्स मापदण्ड र वान कभरको क्षेत्रीय साइबर सुरक्षा विशेषज्ञतालाई एकीकृत गर्ने यस सहकार्यले नेपालसहित दक्षिण एसियाका संस्थाहरूलाई सुरक्षित, विश्वसनीय र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप एआई रूपान्तरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यस पहलले विशेषगरी बैंक तथा वित्तीय संस्था, सरकारी निकाय र निजी क्षेत्रका उद्यमहरूलाई एजेन्टिक एआईका अवसर उपयोग गर्दै सम्भावित जोखिम व्यवस्थापन गर्न व्यावहारिक आधार प्रदान गर्ने विश्वास लिइएको छ।

मंगलबार, ०८ मंसिर २०८३, १२ : ५१

प्रतिक्रिया