काठमाडौं– नेपाल बीमा प्राधिकरणमा बीमित र बीमा कम्पनीबीच देखिएका विवाद तथा असन्तुष्टिसम्बन्धी २९९ वटा उजुरी अझै विचाराधीन अवस्थामा रहेका छन् । चालू आर्थिक वर्ष २०८३र८४ को असोज मसान्तसम्म प्राधिकरणमा परेका कुल ३९३ उजुरीमध्ये ९४ वटाको मात्रै फर्छ्यौट भएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा ७४ वटा नयाँ उजुरी दर्ता भएका छन् । तीमध्ये केन्द्रीय कार्यालयमा ५४ र प्रदेश कार्यालयहरूमा २० वटा उजुरी परेका हुन् । नयाँ दर्ता भएका ७४ र गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३१९ वटा गरी कुल ३९३ उजुरीमाथि प्राधिकरणले कारबाही अघि बढाएको थियो ।
गत आर्थिक वर्ष २०८२र८३ को सोही अवधिमा भने २०६ वटा नयाँ उजुरी दर्ता भएका थिए । तीमध्ये केन्द्रीय कार्यालयमा १४९ र प्रदेश कार्यालयहरूमा ५७ वटा उजुरी परेका थिए । यसरी हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको असोज मसान्तसम्म नयाँ उजुरी दर्ता हुने संख्या उल्लेख्य रूपमा घटेको देखिन्छ ।
त्यस्तै, गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका उजुरीको संख्या पनि यस वर्ष कम छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ३९४ वटा उजुरी थिए । नयाँ दर्ता भएका २०६ वटा उजुरीसमेत जोड्दा त्यस अवधिमा कुल ६०० वटा उजुरी कारबाहीको प्रक्रियामा रहेका थिए । चालू आर्थिक वर्षको सोही अवधिमा भने यस्तो संख्या घटेर ३९३ मा सीमित भएको छ ।
प्राधिकरणले चालू आर्थिक वर्षको असोज मसान्तसम्म फर्छ्यौट गरेका ९४ उजुरीमध्ये ७५ वटा फैसलामार्फत टुंग्याएको छ भने १९ वटा उजुरी दुवै पक्षबीचको आपसी सहमति तथा सम्झौताबाट समाधान गरेको छ । यसले उजुरी निरूपणमा आपसी सहमतिभन्दा औपचारिक कानुनी प्रक्रियाबाट भएका फैसला बढी रहेको देखाउँछ ।
गत आर्थिक वर्ष २०८२र८३ को असोज मसान्तसम्म भने प्राधिकरणले २८१ वटा उजुरी फर्छ्यौट गरेको थियो । तीमध्ये २०४ वटा फैसलामार्फत र ७७ वटा आपसी सहमतिमा टुंग्याइएको थियो । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको समीक्षा अवधिमा उजुरी फर्छ्यौट संख्या १८७ वटाले घटेको छ ।
यद्यपि, विचाराधीन उजुरीको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको छ । गत वर्षको असोज मसान्तसम्म ३१९ वटा उजुरी विचाराधीन रहेकामा यस वर्ष २९९ वटा बाँकी छन् । तर, नयाँ उजुरी दर्ता हुने संख्या घट्दा पनि फर्छ्यौटको गति सुस्त रहनुले प्राधिकरणमाथि उजुरी निरूपणलाई प्रभावकारी बनाउनुपर्ने चुनौती देखिएको छ ।
बीमा दाबी भुक्तानीमा ढिलाइ हुनु, बीमा कम्पनीले दाबी अस्वीकार गर्नु तथा कम्पनीबाट प्राप्त सेवाप्रति असन्तुष्टि रहनु उजुरीका प्रमुख कारण हुन् । बीमितले आफ्नो दाबीअनुसारको भुक्तानी नपाएको वा बीमा कम्पनीबाट उचित सेवा नपाएको अवस्थामा नियामक निकायमा उजुरी गर्न सक्ने व्यवस्था छ ।
बीमितको हकहित संरक्षण गर्नु र बीमा कम्पनीलाई जवाफदेही बनाउनु प्राधिकरणको प्रमुख जिम्मेवारी हो । तर, चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कुल उजुरीको करिब एक चौथाइ मात्रै फर्छ्यौट हुनुले उजुरी निरूपणको गति बढाउनुपर्ने आवश्यकता देखाएको छ । समयमा उजुरीको टुंगो नलाग्दा बीमितले न्याय पाउन थप समय कुर्नुपर्ने अवस्था छ ।
प्रतिक्रिया