काठमाडौं- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा निर्माण सम्पन्न भएको १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
हिम रिभर पावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनाले गत मंसिर ६ गतेदेखि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा पठाउन सुरु गरेको हो ।
विद्युत् उत्पादन सुरु भएसँगै प्रवर्द्धक कम्पनी हिम रिभर पावरले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने प्रक्रियालाई तीव्रता दिएको छ । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत बराबर अर्थात् २६ करोड ६० लाख रुपैयाँको सेयर निष्कासन गर्न लागेको हो ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्कासन हुने कुल २६ लाख ६० हजार कित्ता सेयरमध्ये आधा (१३ लाख ३० हजार कित्ता) आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने बाँकी १३ लाख ३० हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि खुला हुनेछ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ भने हाल नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अन्तिम स्वीकृतिको पर्खाइमा रहेको कम्पनीले जानकारी दिएको छ।
सन् २०१० मा प्राइभेट कम्पनीका रूपमा दर्ता भएको हिम रिभर पावर सन् २०२२ मा पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो ।
प्रतिक्रिया