नेपालको ऊर्जा क्षेत्रमा ९२ अर्बको भारतीय लगानी, तल्लो अरुण शिलान्यास

मंगलबार, ०८ मंसिर २०८३, १३ : ५७

काठमाडौं- नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीबाट डिजिटल माध्यममार्फत संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका हुन् ।

संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको लागत ९२ अर्ब ६७ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजनाबाट उत्पादन हुने कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क पाउनेछ । त्यस्तै, व्यावसायिक उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना चालु अवस्थामै नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।

आयोजनाका लागि हालसम्म प्रभावित २५३ परिवारलाई करिब १ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिएको छ । कुल १ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्ने योजना रहेको छ ।

निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाबाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत्गृहमा पुर्‍याएर विद्युत् उत्पादन गरिनेछ ।

आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् उत्पादन बढ्नुका साथै संखुवासभा र कोशी प्रदेशको आर्थिक तथा पूर्वाधार विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

मंगलबार, ०८ मंसिर २०८३, १३ : ५७

प्रतिक्रिया