काठमाडौं- साताभरमा नेप्से परिसूचक ६.८८ अंकले बढेको छ ।
यो साता सेयर बजारमा तीव्र उतारचढाव देखियो । सुरुवाती तीन कारोबार दिन लगातार बढेको बजारमा अन्तिम दुई दिन गिरावट आएको थियो ।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार २६२१.२९ विन्दुमा बन्द भएको नेप्से यो साताको अन्तिम कारोबार दिन शुक्रबार २६२८.१७ विन्दुमा पुगेर साताको बजार बन्द भएको छ ।
यो साता ५ कारोबार दिन नै बजार खुल्दा कुल २ लाख ४० हजार ३९० पटकको किनबेचमार्फत ६ करोड ९८ लाख ८२ हजार ७०६ कित्ता सेयर खरिदबिक्री हुँदा २५ अर्ब ८२ करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो । यस दिन ३६० कम्पनीको ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
मंगलबार नेप्से १५.३९ अंकले उकालो लाग्दै २६३८.९५ विन्दुमा पुग्दा कारोबार रकम ५ अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँ पुगेको थियो ।
यस्तै, तेस्रो दिन पनि नेप्से ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा पुग्यो। त्यस दिन ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
बिहीबार नेप्से १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा झरेको थियो । यस दिन कारोबार रकम पनि घटेर ५ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ पुगेको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेर साताको कारोबार बन्द भएको छ ।
यस साता मेन्छियाम हाइड्रोपावर र मुक्तिनाथ कृषि कम्पनीले सर्वाधिक कमाएका छन् । सोमबार मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य १०.५८ प्रतिशतले बढेको थियो भने बुधबार मुक्तिनाथ कृषि कम्पनीको मूल्य १०.९८ प्रतिशतले बढेको हो।
प्रतिक्रिया