काठमाडौं- चीन सरकारले सेयर बजारलाई स्थिर र सुदृढ बनाउन सरकारी लगानीकर्ताको भूमिका विस्तार गर्ने घोषणा गरेसँगै चिनियाँ सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ।
शुक्रबार चीनका प्रमुख सेयर सूचकहरू दुई वर्षयताकै उच्च एकदिने वृद्धिसहित कारोबार बन्द गर्न सफल भएका छन्।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको अध्यक्षतामा बसेको राज्य परिषद्को बैठकले बजारमा स्थायित्व कायम गर्न सरकारी लगानीकर्ताको सहभागिता बढाउने र दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने निर्णय गरेको थियो। सरकारी घोषणाले लगानीकर्ताको विश्वास बढाउँदा बजारमा सकारात्मक प्रभाव परेको हो।
शुक्रबार सांघाई कम्पोजिट इन्डेक्स ४.२ प्रतिशतले बढेको छ भने सीएसआई ३०० सूचकमा ३.७ प्रतिशतको वृद्धि भएको छ। प्रविधि क्षेत्र केन्द्रित स्टार ५० सूचक भने १५ प्रतिशतले उकालो लागेको छ।
त्यस्तै, हङकङको हाङसेङ सूचक १.९ प्रतिशत र हाङसेङ टेक सूचक ६ प्रतिशतले बढेका छन्।
यसैबीच, चिनियाँ युआन पनि अमेरिकी डलरको तुलनामा ०.१ प्रतिशतले मजबुत भएको छ। सरकारी नीतिगत समर्थनसँगै लगानीकर्तामा बढेको उत्साहले चिनियाँ वित्तीय बजारमा सकारात्मक माहोल सिर्जना गरेको छ।
प्रतिक्रिया