जापानको टोकियोमा महँगी बढ्यो, मुद्रास्फीति १६ महिनाकै उच्च बिन्दुमा

शनिबार, १२ मंसिर २०८३, १४ : ४८

काठमाडौं- जापानको राजधानी टोकियोमा नोभेम्बर महिनामा उपभोक्ता मूल्यवृद्धि दर २.९ प्रतिशत पुगेको छ। यो पछिल्लो १६ महिनायताकै उच्च मुद्रास्फीति दर हो।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा टोकियोको मुख्य उपभोक्ता मूल्य सूचकाङ्क (कोर सीपीआई) २.९ प्रतिशतले बढेको हो। अक्टोबरमा यस्तो वृद्धि २.६ प्रतिशत रहेको थियो।

मध्यपूर्वमा बढ्दो तनावका कारण ऊर्जा लागत बढ्नु, जापानी येन कमजोर हुँदा आयातित वस्तु महँगिनु तथा कम्पनीहरूले उत्पादन लागतमा भएको वृद्धि उपभोक्तामाथि सार्नु मूल्यवृद्धिका प्रमुख कारण रहेको बताइएको छ।

सर्वेक्षणमा समेटिएका १० प्रमुख वस्तु तथा सेवा समूहमा नौवटाको मूल्य अघिल्लो वर्षको तुलनामा बढेको छ। विशेषगरी विद्युत् महसुल ९.५ प्रतिशत र सहरी क्षेत्रमा प्रयोग हुने ग्यासको शुल्क १३.७ प्रतिशतले वृद्धि भएको छ।

कोर उपभोक्ता मूल्य सूचकाङ्कमा ताजा खाद्यवस्तुको मूल्य समावेश गरिँदैन। टोकियोको मुद्रास्फीति दरलाई जापानभरको मूल्यवृद्धिको प्रवृत्ति आकलन गर्ने महत्त्वपूर्ण सूचकका रूपमा लिइन्छ।

नोभेम्बरमा लगातार तेस्रो महिनासम्म जापानको मुद्रास्फीति दर केन्द्रीय बैंकले निर्धारण गरेको दुई प्रतिशतको लक्ष्यभन्दा माथि रहेको छ।

हाल १.२५ प्रतिशत रहेको जापानको प्रमुख ब्याजदर थप बढ्न सक्ने संकेत बैंक अफ जापानले गरिसकेको छ। मुद्रास्फीति अपेक्षाभन्दा बढी बढ्ने जोखिमका बीच आगामी डिसेम्बर १७ र १८ मा हुने मौद्रिक नीतिसम्बन्धी बैठकलाई बजारले चासोका साथ हेरिरहेको छ। उक्त बैठकमा ब्याजदर वृद्धि हुन सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ।

शनिबार, १२ मंसिर २०८३, १४ : ४८

प्रतिक्रिया