साइन रेसुंगा बैंकको मुनाफा धनात्मक

आइतबार, ०७ माघ २०८०, ११ : ०६

काठमाडौँ- साइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रतिकूल समयमा पनि ६ करोड ७४ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा धनात्मक देखिएको हो । अघिल्लो वर्षको यही अवधिसम्म ११ करोड २८ लाख रहेको वितरणयोग्य मुनाफा घटे पनि धेरै बैंकहरुको ऋणात्मक हुँदा साइनको भने धनात्मक देखिएको हो । बैंकको खूद मुनाफा भने घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४२ करोड ९६ लाख रहेको मुनाफा घटेर यो वर्ष ३७ करोडमा सीमित बन्न पुगेको हो ।  

अघिल्लो वर्ष ६१ करोड ७० लाख रहेको सञ्चालन मुनाफा पनि घटेर यो वर्ष ५९ करोड ३० लाखमा सीमित बन्न पुगेको छ ।  

बैंकको अघिल्लो वर्षको तुलनामा व्यवसायमा सामान्य संकुचन आउँदा खूद ब्याज आम्दानी पनि थोरै घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ५ करोड बढी रहेको यस्तो आम्दानी घटेर यो वर्ष १ अर्ब ४ करोड देखिएको हो ।  

बैंकको अघिल्लो वर्षको यही अवधिसम्म १।३१ प्रतिशतमा सीमित खराब कर्जा बढेर यो वर्ष २.६२ प्रतिशत पुगेको छ । यही कारण बैंकले इम्पेयरमेन्ट चार्जको रुपमा १४ करोड ५२ लाख बढी छुट्याएको छ ।  

नाफा घटेका कारण अघिल्लो वर्ष २०।०६ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी  १५.६८ रुपैयाँमा सीमित बन्न पुगेको छ भने रिटर्न अन इक्वीटी पनि १३।९१ प्रतिशतबाट घटेर ११.१४ प्रतिशतमा सीमित भएको छ ।  

समीक्षा अवधिसम्ममा बैंकले ६० अर्ब ६२ करोड बढी निक्षेप संकलन गरी ५० अर्ब ४१ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको  यही अवधिसम्म भने ५५ अर्ब ६८ करोड बढी निक्षेप संकलन गरी ४३ अर्ब ७४ करोड बढी कर्जा परिचालन गरेको थियो।  

दोश्रो त्रैमाससम्मको बैंकको मूल्य आम्दानी अनुपात २५।३८ गुणा, प्रतिसेयर नेटवर्थ १३८।६८ रुपैयाँ, तरलता अनुपात २२।९५ प्रतिशत र पूँजीकोष अनुपात १२।४९ प्रतिशत रहेको छ ।  

आइतबार, ०७ माघ २०८०, ११ : ०६

प्रतिक्रिया