सजिलो डिजिटल नम्बर प्लेट प्रणाली ‘कताहो’ सुरु

२ महिना अगाडि

गाउँपालिका तथा नगरपालिकाले यो प्रणालीको प्रयोगबाट धेरै काम प्रभावकारी रूपमा गर्न सक्छन् । सबभन्दा महत्त्वपूर्ण– यो प्रणाली प्रयोग गरेर पालिकाहरूले आफ्नो क्षेत्रभित्रका बासिन्दालाई तुरुन्तै घर नम्बर दिन सक्छन् । 

काठमाडौं- नेपालभित्रको जुनसुकै ठाउँको ठेगाना प्लेट पाँच मिनेटमै तयार गर्न सकिने मोबाइल एप र वेबमा आधारित डिटिजल ठेगाना प्लेट प्रणाली ‘कताहो’ सञ्चालनमा आएको छ । पाँच वर्षको अनुसन्धानपछि विकास भएको ‘कताहो’ ठेगाना प्रणालीमा नेपाल सरकार, सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर पनि समावेश गर्न सकिन्छ । 

काठमाडौंमा बुधबार सुरु भएको क्यान इन्फोटेक २०२४(CAN INFOTECH 2024) मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘कताहो’ को औपचारिक उद्घाटन गर्नुभएको हो ।  देशको सम्पूर्ण भूभागलाई १५ अर्ब २ करोड हाराहारी प्लट (टुक्रा) मा विभाजन गरी हरेक प्लट (टुक्रा) का लागि शब्द र अंक मिलाएर एउटा युनिक नाम दिई यो प्रणाली तयार गरिएको साढे दुई दशकभन्दा बढी समयदेखि नवप्रवर्तनको क्षेत्रमा सक्रिय राम र लक्ष्मण रिमालले बताउनुभयो । उहाँहरुका अनुसार ‘कताहो’ को सहायताले नेपालको जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिन्छ । राम र लक्ष्मण ग्रुप संलग्न रहेको एड्रेसग्राफ प्रालिले यो प्रणाली विकास गरेको हो । 

यो डिजिटल ठेगाना प्रणालीमा सामुदायिक रूपमा टोल विकास तथा समितिबाट राखिएका घरका नम्बर समेत राख्न सकिन्छ । यसको लक्ष्य दूरदराजमा रहेका पालिकाका घर, गोठ, टहरा, सीमाचिह्न (ीबलमmबचप), प्राकृतिक सम्पदा जस्ता हरेक स्थानको नम्बर तयार गर्नु रहेको रिमालद्वयको भनाइ छ । 

यो प्रणालीमा विश्वस्तरीय ठेगानाको प्लस कोड तथा घरमा टाँसिने नम्बर प्लेटबाटै घन्टी बजाउन पनि सकिन्छ । यो प्रणाली सबैका लागि बहुउपयोगी सिद्ध हुने अपेक्षा गरिएको छ । ‘कताहो’ एपमार्फत सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी प्रिन्ट गराउन सक्छन् । यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुने एड्रेसग्राफको भनाइ छ । ‘यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ । उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पु¥याउन एकदमै उपयोगी र प्रभावकारी छ,’ एड्रेसग्राफ प्रालिले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ । कम्पनीका अनुसार गाउँपालिका तथा नगरपालिकाले यो प्रणालीको प्रयोगबाट धेरै काम प्रभावकारी रूपमा गर्न सक्छन् । सबभन्दा पहिलो– यो प्रणाली प्रयोग गरेर पालिकाहरूले आफ्नो क्षेत्रभित्रका बासिन्दालाई तुरुन्तै घर नम्बर दिन सक्छन् । 

गाउँ तथा नगरपालिकाहरूले यसको प्रयोग गरेर विभिन्न प्रकारका लगत संकलन गर्न सक्छन् । लगत संकलनमा सबभन्दा पहिलो काम स्थान विशेषको पहिचान हो । त्यो चाहे घरको नम्बर होस्, खेतीयोग्य जमिन होस्, सार्वजनिक स्थान होस्, बाटोघाटो पुलपुलेसा जस्ता स्थिर चिजका लागि हरेकको ठेगाना अक्षांस र देशान्तरको रूपमा राख्न त सकिन्छ तर त्यसरी राख्दा त्यो एउटा अंकको रूपमा मात्र बस्छ । २८० मिटर लम्बाइ तथा २८० मिटर चौडाइको क्षेत्रलाई एउटा नेपाली शब्दले प्रतिनिधित्व गर्ने हुँदा यसलाई व्यावहारिक रूपमा प्रयोग गर्न सजिलो हुन्छ । साथै भविष्यमा गरिने हरेक प्रकारका व्यवस्थापनमा यसले अहम् भूमिका खेल्न सक्छ । 
सेवाग्राहीलाई करको दायरामा ल्याउन पनि पालिकाहरुले यो डिजिटल ठेगाना प्रणाली प्रयोग गर्न सक्छन् । यसको माध्यमबाट नक्सामै कुन कुन क्षेत्रका कुन कुन घर व्यावसायिक हुन्, कुन आवासीय हुन् पत्ता लगाउन सकिन्छ । तीमध्ये कति करका दायरामा छन् र कसरी कर तिरिरहेका छन् भन्ने कुरा पनि प्रस्टै देखिन्छ । 

पालिकाले दैनिक गर्नुपर्ने काम, जस्तैः फोहर व्यवस्थापन, सामाजिक सुरक्षा, अनुगमन, सूचना तथा जानकारी लगायतमा ‘कता हो’ डिजिटल ठेगाना प्रणालीलाई प्रत्यक्ष प्रयोग गर्न सकिन्छ । ठेगाना प्लेटमा रहेको क्युआर कोड स्क्यान गरी फोहरको परिमाण, सामाजिक सुरक्षाका भत्ता लगायत सूचना तथा जानकारीका प्रमाण राख्न सकिन्छ । 

दैवी विपत्ति, घटना दुर्घटना तथा विपत्को सूचना र त्यसको प्रतिकार्यमा यो डिजिटल ठेगाना प्रणालीको प्रयोग एकदमै उपयोगी हुन्छ । पालिकाका बासिन्दालाई आपत् पर्दा ‘कता हो’ कोडको अन्तिम १ शब्द र नम्बर मात्रैले उक्त व्यक्ति कुन ठाउँमा छ, ठ्याक्कै पत्ता लगाएर उद्धार सकिन्छ । पालिकास्तरबाट नियमित अनुगमन गर्नुपर्ने सार्वजनिक निर्माण, भवन निर्माण जस्ता फिल्डमा हुने कामका लागि स्थान पहिचान एकदमै चुनौतीपूर्ण हुने गरेको छ । पालिकासँगको सीमित स्रोत, साधनका कारण कुनै निर्माणस्थलमा अनुमतिभन्दा अधिक स्थान ओगटेर निर्माण भइरहेको वा तोकिएभन्दा कम काम भइरहेको पत्ता लगाउन मुस्किल हुन्छ । ‘कताहो’ डिजिटल ठेगाना प्रणालीमार्फत् त्यस्ता क्षेत्रहरू कुनै पनि स्मार्टफोनको सहायताले पहिचान गर्न सकिन्छ । यसले स–साना सेक्टरलाई (३.५ मिटर लम्बाइ तथा २.८ मिटर चौडाइ) समेत समेट्न सक्ने भएकाले स्थान पहिचान तथा अनुगमन एकदमै चुस्त दुरुस्त राख्न मदत गर्छ । 

ताल तलैया, सार्वजनिक वन, पार्क लगायत स्थानको अतिक्रमण रोकथामको लागि यस ठेगाना प्रणालीको माध्यमबाट उक्त स्थानको रेखांकन गर्न सकिन्छ र त्यसको समूह ठेगाना कोड (Batch Code) को माध्यमबाट त्यस क्षेत्र वरपरको मापदण्डसम्मका स्थानमा निर्माण तथा भोगचलनमा सहज किसिमले रोक लगाउन सकिन्छ ।  घर नम्बर जडानका साथै माथि उल्लेखितलगायत अन्य काममा समेत यो प्रणालीको बहुउपयोगी प्रयोग गर्न सकिन्छ ।  

२ महिना अगाडि

प्रतिक्रिया