बाढीपछि नेपाल टेलिकमको ठूलो सहयोगः उद्धार कोषमा १० करोड हस्तान्तरण

विहीबार, २५ भदौ २०८३, १२ : २६

काठमाडौं– नेपाल टेलिकमले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ।

नेपाल टेलिकमले बिहीबार आयोजना गरेको विशेष कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिना तथा सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थितिमा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले उक्त रकमको चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्।

चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसीको समेत उपस्थिति रहेको थियो।

यसअघि नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग रकमको चेकसमेत अर्थमन्त्रीलाई हस्तान्तरण भइसकेको कम्पनीले जनाएको छ। यससँगै टेलिकमको संस्थागत तथा कर्मचारीस्तरबाट विपद् प्रभावितका लागि गरिएको आर्थिक सहयोग १२ करोड २ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई बाढीपछि नै करिब ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा तथा एसएमएस सुविधा उपलब्ध गराएको जनाएको छ।

कम्पनीका अनुसार पछिल्लो सहयोगबाट प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहत तथा उद्धारसँगै दीर्घकालीन पुनर्स्थापना कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

नेपाल टेलिकमले बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद् तथा कोभिड महामारीका समयमा पनि देश र नागरिकप्रति उत्तरदायी हुँदै आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको समेत उल्लेख गरेको छ।

विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम राख्दै राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा सक्दो सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।

विहीबार, २५ भदौ २०८३, १२ : २६

प्रतिक्रिया