नपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

मंगलबार, १० कार्तिक २०८३, १७ : २१

काठमाडौं- पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुआत गरेको छ । 

आज भएको पहिलो खेलमा विराटनगर किङ्सलाई ८ रनले हराउँदै चितवनले प्रतियोगितामा विजयी सुरुआत गरेको हो । विराटनगरले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । आफ्नो पहिलो खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य विराटनगर १९।३ ओभरमा १४९ रनमा मात्र अलआउट भयो । 

उसका लागि प्रारम्भिक ब्याटर इमरान शेखले ३१ बलमा ४ चौका र २ छक्कासहित ३९ रनको पारी खेले । यस्तै, आन्द्रे रसेलले १७ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ३३ रन बनाए । लोकेश बम २६, शुभम रञ्जने १०, बसिर अहमद १३, एन्जेलो म्याथ्युज १४ रनमा आउट भए । 

चितवन राइनोजका लागि बलिङतर्फ कमल सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा २६ रन दिएर सर्वाधिक ४ विकेट लिए । यस्तै, रिजन ढकालले २ तथा टम टेलर, मौसम ढकाल, ड्यान मोस्ली र रञ्जित कुमारले समान १र१ विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रन बनायो । उसका लागि ओपनर डेविड मलानले अर्धशतकीय पारी खेले ।

उनले ५० बलमा ५ चौका र ५ छक्कासहित ७० रनको पारी खेलेका हुन् । यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असाङ्काले समान १/१ विकेट लिए । प्रतियोगितामा आज नै हुने अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने छन् । यी दुई टोलीबीचको खेल अपरान्ह ५ः०० बजेदेखि सुरु हुनेछ ।

जारी संस्करणको एनपिएलमा पनि आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

मंगलबार, १० कार्तिक २०८३, १७ : २१

प्रतिक्रिया