काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज आमनेसामने हुँदा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार विराटनगर र चितवनबीचको पहिलो खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ । यस्तै, जनकपुर र कर्णालीबीचको दोस्रो खेल अपराह्न ५ बजे सुरु हुनेछ ।
आज मैदानमा उत्रने चार टोलीमध्ये जनकपुर बोल्ट्सले मात्रै यसअघि एनपिएलको उपाधि जितेको छ । जनकपुर यसपटक पनि उपाधि जित्दै पहिलो संस्करणको सफलता दोहोर्याउने लक्ष्यमा छ । यता कर्णाली याक्स पहिलोपटक उपाधि जित्ने प्रयासमा हुनेछ ।
पहिलो खेलमा प्रतिस्पर्धा गर्ने विराटनगर किङ्ग्स र चितवन राइनोज पनि जित निकाल्दै उपाधि यात्रालाई बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रनेछन् । त्यसैले आजका दुवै खेललाई प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ ।
यस संस्करणको एनपिएलमा केही नयाँ व्यवस्था थपिएका छन् । पहिलोपटक प्रतियोगितामा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) लागू गरिएको छ । यसले खेलका क्रममा अम्पायरको निर्णयमा पुनरावलोकनको अवसर प्रदान गर्नेछ ।
त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पहिलोपटक एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ । क्यानले प्रतियोगिताको पुरस्कार राशि पनि बढाएको छ ।
प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ८० लाख रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ ।
प्रतिक्रिया