काठमाडौं - नागरिकको विदेश पलायन रोक्ने वाचासहित रास्वपा सत्तामा आएको ६ महिना पुरा भएको छ । देशमै रोजगारी सिर्जना गर्ने र विदेशमा रहेका युवालाई स्वदेश फर्काउने आकर्षक नारामा नयाँ पुस्ता रास्वपाप्रति आकर्षित भएको कुरा बिर्सन सकिदैन । तर वर्तमान सरकार बनेपछि स्थितिमा कुनै सुधार आएको छैन । अवस्था झन खराब हुँदै गएको छ । असोज महिनामा मात्र ७३ हजारभन्दा बढी नेपाली युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार असोजमा ७३ हजार ७६५ जना वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या गत वर्षको असोज महिनाको तुलनामा करिब १० हजारले बढी हो । गत वर्ष असोजमा सबै प्रक्रियाबाट ६४ हजार ६३४ जना वैदेशिक रोजगारीमा गएका थिए ।
अर्थतन्त्रका सबै सूचकहरुको स्थिति सन्तोषजनक रहेको छैन । रोजगारी सिर्जना हुन नसक्दा युवाहरुको विदेश पलायन दिनानुदिन बढ्दै गएको देखिन्छ । मुलुकमा आन्तरिक रोजगारी सिर्जना गरी युवा जनशक्तिलाई स्वदेशमै राख्ने र बाध्यताले वैदेशिक रोजगारीमा गएकाहरूलाई फर्काउने वर्तमान सरकारले पटकपटक प्रतिबद्धता जनाएको भए पनि वैदेशिक रोजगारमाथिको निर्भरतामा कमी नआएको तथ्यांकले देखाएको छ ।
असोजमा व्यक्तिगत श्रम स्वीकृतिमा १० हजार ८४४ जना, रिइन्ट्रीबाट ३० हजार २०६ जना, जिटुजीका माध्यमबाट १ हजार ३ जना र वैधानिकीकरणका माध्यमबाट ११० जना गएका छन् । असोजमा म्यानपावर कम्पनी र व्यक्तिगत प्रक्रियाबाट गरी ४३ हजार ५५९ जना गएका छन् । म्यानपावर कम्पनीमार्फत ३१ हजार ६०३ जना गएका छन् ।
अघिल्ला महिनाहरूमा जस्तै असोजमा पनि युएई जाने क्रम अग्रस्थानमा रहेको छ । असोजमा २३ हजार ८९९ जना युएई गएकोमा म्यानपावर कम्पनीमार्फत १४ हजार ४९४ जना गएका छन् ।
त्यसैगरी, मलेसियामा ६ हजार ३६, कतारमा ३ हजार ६१९, कुवेतमा २ हजार ६०७, साउदी अरेबियामा २ हजार ५१२, साइप्रसमा ६९३, ओमानमा ६२९, बहराइनमा ४८६, जापानमा ३०७, जोर्डनमा १०८, मौरिससमा ६७, श्रीलंकामा २१, टर्कीमा ११, माल्दिभ्समा १० र हङकङमा २ जना गएका छन् ।
माथिका तथ्यांकहरुले अध्ययनको लागि विदेश गएको देखिदैन । मुलुकमा रोजगारी नपाएर उल्लेखित मुलुकहरुमा गएको देखिन्छ । देश विकासको लागि चाहिने युवा जनशक्ति बाहिरिदा त्यसको दीर्घकालीन असर कस्तो पर्दछ भन्ने राज्यले गरेको छैन । वैदेशिक रोजगारमा गएका युवाहरुले विप्रेसन पठाएकोमा मात्र सन्तोष मानेर बस्ने कि उनीहरुको पौरख र सीपलाई मुलुकमै सदुपयोग गर्ने वातावरण निर्माण गर्ने ? यो प्रश्न निकै गम्भीर बनेको छ ।
प्रतिक्रिया