व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

मंगलबार, १० कार्तिक २०८३, १५ : १२

काठमाडौं- पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक एघार लाख आम्दानी गर्दै आएका छन् ।

प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् । पङ्गेनीले  थातथलोमा व्यावसायिक केरा खेती गरेर उक्त आम्दानी गर्न सफल भएका हुन् । 

एक रोपनी क्षेत्रफलमा १०० केराका बिरुवा लगाएर सुरु गरेको व्यवसायलाई विस्तार गर्दै अहिले ६१ रोपनी क्षेत्रफलमा छ हजार १०० केराका बिरुवा लगाएका छन्।

कालीगण्डकी नदीको किनारमा अवस्थित खेतमा केराको उत्पादन राम्रो हुने ठानेर गरेको खेती अहिले निक्कै फस्टाएर गएको छ । “व्यावसायका क्रममा मैले धेरै क्षेत्रमा हात हाले”, उनले भने, “सबैभन्दा खुसी र सन्तुष्टि मलाई यही केरा खेतीबाट मिलेको छ ।”

सुरुमा स्थानीय ‘मालभोग’ र ‘जि नाईन’ प्रजातिको केरा लगाउनुभएका पङ्गेनीले हाल जि नाईन जातको केरा हटाएर स्थानीय मालभोगमात्रै लगाएका छन् । 

केराबाट राम्रो आम्दानी हुन थालेपछि धान तथा मकै खेती हुँदै आएको जमिनमा केरा खेती विस्तार गरेको उनले बताए । “अन्य खेतीभन्दा केरा खेती सहज लाग्यो, उत्पादित केराको बजारको माग पनि उच्च रहेकाले केरा खेती थालेको हुँ ।” उनले भने, “आफ्नो १३ रोपनी र बाँकी अरुको जग्गा बन्धकी र भाडामा लिएर ६१ रोपनी क्षेत्रफलमा केरा खेती छ ।”

यहाँ उत्पादन भएको स्थानीय जातको मालभोग केरा अन्य केराभन्दा ठुलो, आकर्षक र विषादीरहित तरिकाले पकाएर बिक्री गर्ने भएकाले पनि स्थानीय बजारमा अत्यधिक खपत हुने गरेको उनले बताए ।

विषादी तथा अखाद्य व्स्तुको प्रयोग गरेर केरा नपकाउने र अर्गानिक केरा भएकै कारण पनि स्थानीय चापाकोट बजारमा केरा बिक्री हुँदै आएको छ । 

राम्रो र ठुला कोसा भएको केरा प्रतिदर्जन रु २०० र साना कोसा भएका केरा प्रतिदर्जन रु १५० का दरले बिक्री हुने गरेको छ । “खेतमा रहेका छ हजार २०० बोटमध्ये अहिले दुई हजार २०० बोटले उत्पादन दिन्छन्”, उनले भने, “यी बोटहरुबाट उत्पादन भएका केरा बिक्रीबाट वार्षिक एघार लाख बढी आम्दानी हुँदै आएको छ ।”

खेतमा भएका सबै बोटले उत्पादन दिनथालेपछि वार्षिक तीस लाख बढी आम्दानी हुने लक्ष्य उनको छ । 

घरपरिवारले रेखदेख गर्दै आएको उक्त केरा खेतीमा गोडमेललगायत समयमा भने स्थानीयलाई रोजगारीसमेत हुने गरेको छ ।

मंगलबार, १० कार्तिक २०८३, १५ : १२

प्रतिक्रिया