काठमाडौं- नेपाल टेलिकमले फाइबर टु द होम प्रविधिमा आधारित एनटी फाइबर सेवामा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेको छ । नयाँ लाइन जडान गर्न तथा सेवासम्बन्धी जानकारी लिन ग्राहकले सम्पर्क गर्ने क्रम बढेपछि कम्पनीले सम्पर्क नम्बरको क्षमता समेत वृद्धि गरेको छ ।
नेपाल टेलिकमका अनुसार एनटी फाइबर सेवा जडान गर्न तथा आवश्यक जानकारी लिन ग्राहकले १९८ नम्बरमा कल गर्न सक्नेछन् । उक्त नम्बरमा ग्राहकको चाप बढेपछि सेवा सहज बनाउन क्षमता वृद्धि गरिएको कम्पनीले जनाएको छ । ग्राहकले यस नम्बरमा सम्पर्क गरी आफूलाई पायक पर्ने स्थानमा नयाँ फाइबर लाइन जडानका लागि अनुरोध गर्न सक्नेछन् ।
त्यसैगरी, अब एनटी फाइबर जडानका लागि आवश्यक विवरण अनलाइनमार्फत उपलब्ध गराउन सकिने व्यवस्था पनि गरिएको छ । ग्राहकले सेवासम्बन्धी गुनासोसमेत अनलाइनबाटै दर्ता गर्न सक्नेछन् । यसका लागि नेपाल टेलिकमको आधिकारिक गुनासो व्यवस्थापन प्रणाली https://complain.ntc.net.np/ मा प्रवेश गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत सेवा प्रयोग गर्न सकिनेछ ।
नेपाल टेलिकमले हालै चार हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको एनटी फाइबर प्याकेज उपलब्ध गराएको छ । कम्पनीले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै अन्य विभिन्न प्याकेजसमेत सञ्चालनमा ल्याएको जनाएको छ ।
प्रतिक्रिया