चुनावमा होमिँदै इजरेल र अमेरिका, परिणामले पार्न सक्छ विश्वव्यापी प्रभाव

मंगलबार, १० कार्तिक २०८३, १० : ३८


यी साताहरूमा दुई महादेशमा दुइटा निर्वाचन हुँदैछन्। यी निर्वाचनका परिणामले विश्व राजनीतिमा दूरगामी प्रभाव पार्न सक्छन्।

निर्वाचनको समयतालिका संयोगवश यस्तो परेको छ कि एकअर्काबाट करिब ६ हजार माइल टाढा रहेका लाखौँ मतदाताले केही दिनको अन्तरालमा आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै छन्।

मङ्गलवार इजरेली मतदाताले नयाँ संसद् चयन गर्न मतदान गर्नेछन् भने त्यसको एक सातापछि अमेरिकी मतदाताले नयाँ कङ्ग्रेस चयन गर्ने छन्।

अमेरिकी कङ्ग्रेसका पूर्वसभामुख टिप ओ'निलले कुनै बेला भनेका थिए, "सबै राजनीति स्थानीय हुन्छ।"

तर यी दुई निर्वाचनका परिणामले स्थानीय सीमाभन्दा धेरै परसम्म प्रभाव पार्ने छन्।

यी निर्वाचन समयका हिसाबले नजिक मात्र छैनन्, एकअर्कासँग गहिरो रूपमा अन्तरसम्बन्धित पनि छन्।

इजरेलमा कस्तो सरकार बन्छ भन्ने कुराले मध्यपूर्वको भविष्य र त्यस क्षेत्रमा जारी युद्धहरूको दिशामा दीर्घकालीन प्रभाव पार्ने छ।

त्यस्तै, अमेरिकी कङ्ग्रेसको संरचनामा आउने परिवर्तनले ती युद्धहरूको भविष्य मात्र नभई विश्व अर्थतन्त्रको दिशालाई समेत प्रभावित तुल्याउन सक्छ।

यी दुई निर्वाचनबीच भौतिक सम्बन्धसमेत छ: 'रिपब्लिकन्स ओभरसिज इजरेल' नामक 'लबिइङ' समूहको अनुमानअनुसार, अमेरिकी राहदानी भएका करिब पाँच लाख इजरेली नागरिकले दुवै निर्वाचनमा मतदान गर्न सक्छन्।

विशेषगरी इरानविरुद्ध अमेरिका र इजरेलले सञ्चालन गरिरहेको युद्धका सन्दर्भमा यो सम्बन्ध थप पेचिलो बनेको छ।

इरानको प्रश्न
फेब्रुअरीमा सुरु भएको व्यापक हवाई आक्रमणले इरानका थुप्रै सैन्य अखडा ध्वस्त पार्‍यो र त्यहाँको नेतृत्वको ठूलो हिस्सालाई पनि क्षति पुर्‍यायो। तर उक्त आक्रमणले इरानको शासन व्यवस्था ढाल्न सकेन। बरु, इरानले खाडी क्षेत्रमा कडा प्रत्याक्रमण गर्‍यो र होर्मूज जलमार्ग तथा त्यसमार्फत् हुने ऊर्जा आपूर्तिमाथि आफ्नो नियन्त्रण कायम गर्‍यो।

इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले चुनावी अभियानका क्रममा इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे चर्चा गरेका छन्।

उनले कुनै प्रमाण प्रस्तुत नगरी इरानको आणविक खतराबारे नयाँ दाबी गरेका छन्। साथै, इरानको इस्लामिक शासन व्यवस्था ढाल्नैपर्ने आफ्नो अडान पनि दोहोर्‍याएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेतन्याहुको चुनावी अभियानलाई समर्थन गर्दै इरानमाथि फेरि आक्रमण हुन सक्ने अड्कलबाजीलाई थप बल दिएका छन्। उनले आफू र नेतन्याहुले इरानमा "चाँडै काम सक्नुपर्ने" बताएका हुन्।

यद्यपि, आक्रामक अभिव्यक्तिका बाबजुद ट्रम्पले मतदानअघि इरानमाथि आक्रमण नगर्न नेतन्याहुलाई रोक्न हस्तक्षेप गरेका भन्ने परस्परविरोधी विवरणहरू पनि सार्वजनिक भएका छन्। इन्धनको मूल्य फेरि तीव्र रूपमा बढेमा अमेरिकी मतदाता प्रभावित हुन सक्ने चिन्ता ट्रम्पलाई रहेको बताइएको छ।

त्यसो भए इरानमाथि अर्को आक्रमण निर्वाचनपछि मात्रै हुन सक्छ त? इजरेली सञ्चारमाध्यममा यसबारे व्यापक अड्कलबाजी भइरहेको छ। निर्वाचनपछि कामचलाउ प्रधानमन्त्रीकै हैसियतमा रहँदा इरानमाथि आक्रमण गरेर नेतन्याहुले आफ्नो राजनीतिक अस्तित्व जोगाउने प्रयास गर्न सक्ने चर्चा भइरहेको हो।

'विरासत जोगाउने रणनीति'
निर्वाचनको दबावबाट मुक्त भएपछि युद्ध अन्त्य गर्ने अन्तिम प्रयासस्वरूप इरानमाथि थप एकपटक चर्को सैन्य कारबाही गर्न ट्रम्प पनि बढी इच्छुक हुन सक्छन्।

केही विश्लेषकहरूको ठम्याइमा, युद्ध र आर्थिक प्रतिबन्धका कारण इरानको अर्थतन्त्र यति कमजोर भइसकेको छ कि सैन्य आक्रमणको अर्को चरणले इरानी जनतालाई शासन व्यवस्था ढाल्न प्रेरित गर्न सक्छ। तर फेरि अन्य कतिपय विश्लेषक चाहिँ यसलाई फेरि एकपटक पूरा नहुने आशा मात्र ठान्छन्।

"मध्यावधि निर्वाचनपछि उनी आफ्नो विरासत बनाउने चरणमा हुने छन्," एक प्रभावशाली पश्चिमा कूटनीतिज्ञले मसँग भने।

"आफ्नै देशभित्रका समस्याको दलदलमा फसिरहनुभन्दा उनले कुनै पनि विषयमा आफ्नो सक्रियता देखाउन चाहनेछन्।"

इजरेलमा पनि इरानबाट उत्पन्न खतराबारे र त्यसलाई सीमित गर्नुपर्ने आवश्यकताबारे अधिकांश राजनीतिक दलबीच व्यापक सहमति छ। तर मतदाताले नयाँ सरकार चुनेमा इरानमाथि थप आक्रमण गर्ने विषयमा राजनीतिक र व्यक्तिगत रूपमा कम प्रतिबद्ध प्रधानमन्त्री सत्तामा आउन सक्ने छन्।

यस्तो परिस्थितिमा आफ्नो अडानसमेत बदल्न सक्ने सङ्केत ट्रम्पले दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, "यदि इजरेलमा गलत नेता निर्वाचित भए, अर्थात् बीबी (नेतन्याहुको उपनाम) बाहेक अरू कोही नेता आए, अमेरिकाले यो काम आफैँ गर्नुपर्ने छ। तर म त्यसो गर्न इच्छुक छैन।"

अर्थतन्त्रसँगको सम्बन्ध
विश्व अर्थतन्त्रका दृष्टिले पनि यी दुई निर्वाचन एकअर्कासँग जोडिएका छन्। अमेरिकामा मध्यावधि निर्वाचनको चुनावी अभियानमा महँगी मुख्य मुद्दा बनेको छ।

इजरेलमा पनि अर्थतन्त्र निर्वाचनको प्रमुख मुद्दा बनेको छ। त्यहाँका मतदाताले महँगीसँगै न्यून पारिश्रमिकको समस्या पनि झेलिरहेका छन्।

अमेरिकाको मध्यावधि निर्वाचनअघि ट्रम्पले मतदातालाई सन्तुष्ट पार्ने प्रयास गरेका छन्। उनले रुसमाथिका प्रतिबन्ध खुकुलो पारेका छन्। मस्कोबाट डिजेल आयात गर्दा इन्धनको मूल्य उल्लेख्य रूपमा घट्न सक्ने उनको अपेक्षा थियो, तर त्यो पूरा हुन सकेको छैन।

उल्टै, ट्रम्पको विवादास्पद रणनीतिप्रति रिपब्लिकन नेताहरूको असन्तुष्टि बढ्दै गएको छ।

इजरेलमा नयाँ नेता सत्तामा आएमा उनले अमेरिकी राष्ट्रपतिको कार्यकालको अन्तिम चरणमा ट्रम्पसँग नयाँ सम्बन्ध स्थापित गर्नुपर्ने छ।

त्यस्तै, अमेरिकी कङ्ग्रेसमा डेमोक्र्याटहरूले आफ्नो प्रभाव बढाउन सकेमा इजरेललाई अमेरिकाले दिँदै आएको निःसर्त समर्थनमा केही अङ्कुश लाग्न सक्छ। यद्यपि राष्ट्रपति ट्रम्पसँग कार्यकारी अधिकार र भिटो कायम रहने छन्।

यस वर्षको सुरुतिर इजरेल र अमेरिकाले इरानसँग युद्ध गर्ने निर्णय गरेपछि विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय भूराजनीति नै बदलिएको छ। अब यी दुवै देशका मतदाताले गर्ने निर्णयले विश्व कुन दिशामा अघि बढ्छ भन्ने कुरा निर्धारण गर्न सक्छ।

बीबीसी न्यूज नेपाली 

मंगलबार, १० कार्तिक २०८३, १० : ३८

प्रतिक्रिया