विदेशी बैंकको जमानतमा ऋण दिन राष्ट्र बैंकको स्वीकृति आवश्यक नरहने

शनिबार, २७ माघ २०८०, ०७ : ५४

काठमाडौं : विदेशी बैंकको जमानतमा ऋण दिन राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । 

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को तेस्रो संशोधन गर्दै विदेशी बैंकबाट जारी भएको बैंक जमानत वा वित्तीय जमानत बैंकहरु आफैंले स्वीकार गर्न सक्ने व्यवस्था गरेको हो।

 ‘बिड बन्ड’ र ‘पर्फर्मेन्स बन्ड’ जस्ता कर्जा प्रवाह नगर्ने प्रयोजन भएका विदेशी बैंक ग्यारेन्टीमा पनि बैंक तथा वित्तीय संस्थाले आफैं स्वीकार गर्न सक्नेछन्। संशोधित व्यवस्था अनुसार विदेशी बैंक तथा वित्तीय संस्थाका साथै विदेशी नियामक निकायबाट स्वीकृत प्राप्त पेन्सन फन्ड, हेज फन्ड, सरकारीरअन्तर सरकारी स्वामित्वको ‘डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन’ जस्ता कर्जा प्रवाह गर्ने संस्थाबाट जारी भएको जमानत समेत बैंक आफैंले स्वीकार गर्न सक्ने भएका छन्। 

यस्तो बैंक जमानत वा वित्तीय जमानत स्वीकार गर्दा नेपालबाट कुनै कमिसन, शुल्क वा लागत तिर्नुपर्ने भए त्यसको स्वीकृति भने राष्ट्र बैंकबाट लिनुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ। त्यस्तो कमिसन, शुल्क वा लागत वाणिज्य बैंक आफैंले बैंकरवित्तीय जमानत (स्वदेशी मुद्रासमेत) जारी गर्दा लिने न्यूनतम कमिसन, शुल्क वा लागतभित्र रहनुपर्ने छ।

 यस्तै कमिसन, शुल्क वा लागत वाणिज्य बैंकले लिने न्यूनतम जति भए पनि प्रतिवर्ष १.५ प्रतिशतभित्र रहनुपर्ने राष्ट्र बैंकले जनाएको छ। 

शनिबार, २७ माघ २०८०, ०७ : ५४

प्रतिक्रिया