सात महिनामा चार लाख बढी नेपाली बिदेसिए , कुन देशका कति गए ?

२ महिना अगाडि

काठमाण्डौः पछिल्लो सात महिनामा (साउनदेखि माघसम्म) ४ लाखभन्दा धेरै नेपाली रोजगारका लागि विदेश गएका छन् । 

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार यस अवधिमा ४ लाख ५ हजार ५ सय नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् ।  विभागका अनुसार गएको वर्ष यसै अवधिमा ४ लाख ७८ हजार ८ सय जनाले श्रम स्वीकृति लिएका थिए । पुसको तुलनामा माघमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या भने घटेको छ ।

पुसमा ६५ हजार ८ सय नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा माघ महिनामा भने यो सङ्ख्या ६२ हजार १ सय रहेको छ । पुसमा जस्तै माघमा पनि धेरै नेपालीहरु कामको लागि संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन् । माघमा मात्रै १७ हजार नेपाली यूएई गएको तथ्यांकमा समावेश छ । 

यस्तै, साउदीमा १२ हजार ३ सय, कतारमा १२ हजार १ सय र मलेसियामा ६ हजार ७ सय नेपाली कामको लागि गएका छन् । पछिल्ला महिना रोजगारीका लागि युरोप जानेहरु बढेका छन् । वैदेशिक रोजगारीमा जानेको सङ्ख्यासँगै स्वदेश भित्रिने रेमिट्यान्स पनि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुससम्मको ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

२ महिना अगाडि

प्रतिक्रिया