काठमाडौँ- अहिले देशको अर्थतन्त्र केहि मात्रामा सुधार भएको देखिन्छ तर राम्ररी गति लिन भने अझै सकेको छैन । बजारमा खरिद–बिक्रीदेखि उधारो उठ्ने काम समेत सुस्ताएको छ । अर्थतन्त्र चलायमान हुन नसकेकै कारण कतिपय बैंकहरुले लाभांश नदिने घोषणा गरिरहेका छन् ।
महिला आर्थिक पत्रकार संघ (फेजा) ले आइतबार आयोजना गरेको नीतिगत बहस कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरूले लाभांश दिन नसक्ने बताएका छन्।
सीईओ ढुंगानाले भने, विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको छ र त्यसको प्रभाव बैंकमा पनि परिरहेको छ । अहिले बजारमा खरिद–बिक्रीदेखि उधारो उठ्ने काम सुस्ताएको बताएका ढुंगानाले समग्र अर्थतन्त्रमा नै समस्या देखिएको पनि बताए। त्यसका कारण बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनले बताए। अर्थतन्त्रमा सुधार नभए बैंक तथा वित्तीय संस्थाहरूले थप समस्या झेल्नुपर्नेतर्फ पनि उनले सचेत गराए।
अहिले मुलुकमा पुँजीगत खर्च बढाउनेभन्दा बजेट घटाउने परिपाटी सही नभएको उनको भनाइ छ। यसले अर्थतन्त्र सकारात्मक गतिमा नजाने उनले बताए। साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको बुझ्न सकिने उनले उल्लेख गरे।
प्रतिक्रिया