अपाङ्गमैत्री एटीएम सञ्चालन गर्न केन्द्रीय बैंकको निर्देशन

मंगलबार, ०८ फागुन २०८०, १३ : २७

काठमाडौँ - नेपाल राष्ट्र बैंकले अपाङ्गमैत्री एटीएम सञ्चालन गर्न निर्देशन दिएको छ । बैंकले ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपमा बैङ्किङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन गरेको छ । यस्ता सेवाग्राही विशेष सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा दिनुपर्ने व्यवस्था रहेकाले सोही व्यवस्था बमोजिम सेवा प्रवाह गर्न केन्द्रीय बैंकले सचेत गराएको हो । 

 केन्द्रीय बैंकले भनेको छ, ‘स्थानीय तहमा पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एक शाखा र एटीएम लाउञ्ज भएका स्थानमा एउटा एटीएम अपाङ्गमैत्री बनाउनुपर्ने र अपाङ्गता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयमले उक्त सेवा उपयोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।’ यसै व्यवस्था बमोजिम सेवा प्रवाह गर्न केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई सचेत गराएको छ । 

मंगलबार, ०८ फागुन २०८०, १३ : २७

प्रतिक्रिया