काठमाडौं । सहकारी संस्थाहरूको प्रभावकारी नियमन हुन नसेकै कारण समस्याहरू बढ्दै गएको सरोकारवालाहरूले एक कार्यक्रममा उल्लेख गरेका छन् ।
बागमती प्रदेश साकोस समीट २०८० का सहभागीहरूले नियमन र अनुगमन कमजोर भएका कारण सहकारी क्षेत्र समस्यामा परेको जनाएका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ति सापकोटाले विगतमा सहकारीबाट सम्पत्ति शुद्धीकरण हुन्छ भन्ने आम बुझाई रहे पनि त्यो सोचाईमा परिवर्तन हुन थालेको बताएका छन् ।
सहकारीमा सम्पत्ति शुद्धीकरण निवारणः भावी जोखिम र कार्यान्वयन रणनीति’ विषयमा कार्यपत्र पेश गर्दै निर्देशक सापकोटाले चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा ८७७ वटा सहकारी संस्थाहरू गोएमएल प्रणालीमा आबद्ध भई नियमित रिपोर्टिङ गरिरहेको जानकारी दिएका छन् ।
गत आर्थिक वर्षमा सहकारी संस्थाहरूले २ लाख २१ हजार वटा सीमा र एउटा शङ्कास्पद कारोबारको रिपोर्टिङ गरेको उनले जानकारी दिए । अहिले देशको सम्पत्ति शुद्धीकरण निवारण पालनाको अवस्थाबारे समीक्षा हुँदै गरेको जानकारी दिँदै सापकोटाले देश कालो सूचीमा परे वित्तीय क्षेत्रलाई नै अप्ठेरो पर्नेतर्फ सहकारी संस्थाहरूको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा टिप्पणी गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिराज दाहालले सहकारी बिग्रिए, सकिए भनेर प्रचार भए पनि अझै आशाको वातावरण रहेको बताए । सहकारी संस्थामा नियमन कमजोर रहेकाले समस्या देखिँदै गएको उनको भनाई छ ।
प्रतिक्रिया