तेब्बर मूल्यमा सेनेटरी प्याड खरिद, शिक्षा शाखा प्रमुखले सेटिङ गरेको आरोप

२ महिना अगाडि

काठमाडौँ  - रुपन्देहीको देवदह नगरपालिकामा सामुदायिक विद्यालयले बजार मूल्यभन्दा करिब तीन गुणा बढी मूल्यमा सेनेटरी प्याड खरिद भएको तथ्य बाहिर आएको छ ।

 छात्राहरुलाई निःशुल्क वितरण गर्नुपर्ने सेनेटरी प्याड बजारमा ४५ रुपैयाँमा पाइन्छ । तर, ती विद्यालयले ११३ रुपैयाँ तिरेको तथ्य बाहिर आएको हो । सप्लायर्स कम्पनीले मूल्य अभिवृद्धि करसहित प्रतिगोटा ४५ रुपैयाँमा प्याड उपलब्ध गराउने दररेट उपलब्ध गराएको थियो । तर, नगरपालिकाको शिक्षा शाखाको निर्देशनमा विद्यालयहरुलाई करसहित ११३ रुपैयाँमा उक्त प्याड खरिद गराइएको पाइएको छ । नगरपालिकाले समेत कम मूल्य पेस गर्ने सप्लायर्सहरुलाई पाखा लगाएर मिलेमतोमा महँगो मूल्य तोकेको कम्पनीलाई टेन्डर दिएको पाइएको छ ।शिक्षा शाखा प्रमुखले नगरपालिकामै बैठक बोलाएर विद्यालयका प्रअहरुलाई प्याड खरिद गर्न सम्झौता गराएका थिए । सम्झौता गर्नुअघि नै विद्यालयमा सामान आएको ती प्रअहरुको भनाइ छ । शिक्षा शाखा प्रमुख टीकाराम शर्माले विद्यालयका प्रअहरुलाई आकस्मिक बैठक बोलाइ वास्तविक मूल्यभन्दा ३ गुणा बढी मूल्यमा सम्झौता तथा भुक्तानी गर्न लगाएको देवदह माविका प्रअ हरिप्रसाद पाण्डेले बताए ।


शिक्षा प्रमुख शर्माले योजनाबद्ध बैठकमा बोलाएर सप्लायर्ससँग सम्झौता गर्न लगाएको प्रअहरुले आरोप लगाएका छन् । सामान खरिदका विषयमा आवश्यक छलफल गर्न भनेर बैठकमा बोलाएको र तत्काल विद्यालयको खातामा पैसा पठाएको उनीहरुको भनाइ छ । विद्यालयलाई नै भुक्तानी गर्न लगाइ आफूहरुलाई अप्ठेरोमा पारेको युगज्योति माविका प्रधानाध्यापक यमलाल अर्यालले बताए । विद्यालयका अन्य काम गर्दा ढिलासुस्ती गर्ने शिक्षा शाखाले सेनेटरी प्याडको सम्झौता र भुक्तानीमा भने छिटो छरितो काम गरेको उनको भनाइ छ । शिक्षा शाखामार्फत भएका आदेशलाई आफूहरुले ढुक्क भएर पालना गरेको महामाया भवानी माविका प्रधानाध्यापक ऋषिश्वर अर्याल बताउँछन् ।अर्यालले भने, ‘गतवर्ष सेनेटरी प्याड डिस्पोजेवल मेसिन खरिद, बाटर फिल्टर खरिद, आईसीटी कार्यक्रमका उपकरण एवम् सामग्री खरिदमा पनि शिक्षा शाखाले यसरी नै निर्देशन गरेको हुँदा हामीले शिक्षा प्रमुखको निर्देशन पालना गरेका हौं ।’देवदह नगरपालिकामा रहेका १३ माध्यमिक र ४ वटा आधारभूत विद्यालयको लागि २९ लाख ९५ हजार बजेटमध्येबाट उक्त सेनेटरी प्याड खरिद गरिएको थियो । २८० एमएमको प्याडको खुद्रा मूल्य ४५ देखि ५० रुपैयाँसम्म मात्र रहेको छ । तीन गुणा बढी मूल्यमा खरिद गरिएको प्याडमा १५ देखि १६ लाखसम्म अनियमितता भएको विद्यालयका प्रअहरुको आंकलन छ । महँगो मूल्य तिरिएको प्याड गुणस्तरीय नभएको छात्राहरुले गुनासो गरेपछि अनियमितताको आशंका गरिएको थियो । यसपछि प्रअहरुले सेनेटरी प्याड खरिदमा छानबिन गर्न माग गरेका छन् । शिक्षा शाखाको निर्देशनमा सेनेटरी प्याड खरिद गर्दा सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ र सार्वजनिक खरिद ऐन २०६३ को दफा ३ को समेत अधिनमा रही खरिद र व्यवस्थापन गर्न गराउन देवदह नगरपालिकाले सबै विद्यालयलाई निर्देशन गरेको थियो । तर, विद्यालयहरुले विधि र विधान पालना नगरेको पाइएपछि परिपत्र नै गरेको नगरपालिकाले जनाएको छ ।देवदह_ ५ स्थित केरवानी माविका प्रअ निर्मल ढुंगानाले नगरपालिकासँग सबै प्रअहरुको सम्झौताअनुसार समान आएको र सबै निर्णय गरेर भुक्तानी दिएपछि यस्तो विषय आएको बताए । उनले मूल्य र गुणस्तरको विषयमा प्रश्न उठेपछि सप्लायर्स कम्पनीलाई सम्पर्क गर्दा हुन नसकेको बताए । ‘नगर शिक्षा प्रमुख र सप्लायर्स कम्पनीलाई बोलाएर निचोड निकाल्ने पक्षमा छौं’, उनले भने ।

शिक्षा शाखाले सार्वजनिक खरिद ऐनविपरीत दिएको आदेशका कारण देवदहका १६ वटा विद्यालय अहिले अप्ठेरोमा परेका छन् । देवदह- २ स्थित भविष्य निर्माण माविका प्रधानाध्यापक गोविन्द भुसालले भने सामान पाए पनि भुक्तानी नदिएको बताए । शिक्षा प्रमुखले आफूहरुलाई फसाएको भन्दै प्रधानाध्यापकहरुले आक्रोश पोखेका छन् । यस विषयमा शिक्षा शाखा प्रमुख शर्माले सप्लायर्स र कम्पनीका कारण यस्तो गल्ती भएको स्वीकार्दै उनीहरुलाई तत्काल नगरपालिकामा बोलाउने प्रतिक्रिया दिएका छन् ।‘हामीले सबै विद्यालयमा एकै गुणस्तरको सेनेटरी प्याड वितरणका लागि यसो गरेका हौं, ठूलो कमजोरी भयो उनीहरुको विश्वास गर्दा’, शिक्षा शाखा प्रमुख शर्माले भने, ‘अब उनीहरुलाई कि ४५ रुपैयाँमै दिनुस् नभए सबै सामान फिर्ता गर्न भनेर भन्ने निर्णयमा पुगेका छौं, यसमा नगर प्रमुखसँग सल्लाह गरेर उनीहरुलाई बोलाइएको छ ।’तर, उनले भने जस्तो सहज सामान फिर्ता गर्न सकिने सम्भावना नभएको विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् । उनीहरुका अनुसार धेरै विद्यालयबाट सप्लायर्सले भुक्तानी लगिसकेको छ ।

२ महिना अगाडि

प्रतिक्रिया