काठमाडौँ - नेपाल राष्ट्र बैंकले २१अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको एक सूचना मार्फत जानकारी दिएको छ।
मङ्गलवार फागुन २९ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको जनाएको हो। यो ट्रेजरी असोज चैत २७ गते परिपक्व हुनेछ ।
त्यस्तै, ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ जेठ २९ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ फागुन २७ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष)स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्।
प्रतिक्रिया