उन्नत प्रविधिको प्रयोगले धान खेती गरिदै

१ महिना अगाडि

काठमाडौँ - कृषि ज्ञान केन्द्र झापाले ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यको सुरुवात गरेको छ । धानको व्याड राख्दादेखि नै आधुनिक प्रविधिको विषयमा किसानहरूलाई जानकारी दिँदै ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताएका छन्   ।

 

शिवसताक्षी नगरपालिकाको कनकाई सिँचाइ आयोजना क्षेत्रमा उन्नत प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यका लागि ट्रे मा बिउ राखेर मेसिनबाट नै धान रोपाइँ सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा नं -४ मा नगर प्रमुख रोशन थोप्रासहितको उपस्थितिमा उन्नत प्रविधि प्रदर्शन सहित धान रोपाइँ सम्पन्न भएको हो । राइस ट्रान्सप्लान्टरबाट धान रोपाइँ गर्दै शिव सताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राले प्रविधिको प्रयोग र आधुनिक तवरले धान खेतीका लागि नगरपालिकाले पनि विशेष कार्यक्रम ल्याउने बताएका छन्  । उनले उन्नत प्रविधिबाट धान रोप्दा उत्पादन लागत कम भएर किसानलाई धेरै फाइदा पुग्ने देखिएको जनाउँदै यस प्रकारको प्रविधि अवलम्बन गर्न किसानलाई अनुरोध गरेका छन्  । कनकाई सिँचाइ आयोजना क्षेत्रमा जापान सरकारको सहयोगमा कृषि प्रणाली सुधारमा काम भइरहेको जनाउँदै यसका लागि स्थानीय सरकार समन्वय गर्दै अघि बढ्न तयार रहेको जनाएका छन् “कनकाइ सिँचाइको नहरलाई फोहोर फ्याल्ने स्थल नबनाएर निरन्तर पानी बग्ने अवस्था ल्याउन हामी लागि परेका छौ,” उनले भनेको छ ।गौरादह नगरपालिका–९, गौरीगन्ज गाउँपालिका–१ र कमल गाउँपालिकामा चैते ५ जातको धान उन्नत प्रविधिबाट रोप्ने कृषि ज्ञान केन्द्रको योजना रहेको विष्टले जानकारी दिएका  छन् । जिल्लाभर करिब ७० बिघा जमिनमा यस किसिमको प्रदर्शनी खेती गरिन सुरु गरेको विष्टले जानकारी दिएका छन्  ।  

१ महिना अगाडि

प्रतिक्रिया