विपद् जोखिम न्यूनीकरणको लागि अमुल्य योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित

१ महिना अगाडि

काठमाडौँ- विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्व सूचना सन्देशहरू २०७३ सालदेखि अनवरत रूपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पुर्‍याएको भन्दै सम्मान गरेको हो ।


विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्‍याएकोमा नेपाल टेलिकमको भूमिकाको उच्च कदर गरिएको विभागले जनाएको छ । काठमाडौँमा आयोजित नेसनल वर्कसप अन अर्ली वार्निङ सिस्टम कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सुशिलचन्द्र तिवारीले नेपाल टेलिकमलाई सो कदर पत्र प्रदान गरे । 

नेपाल टेलिकमका हाल देशैभर रहेका दूरसञ्चार पूर्वाधारहरू जल तथा मौसम विज्ञान विभागको प्रयोजनको लागि प्रयोग भइरहेका छन् । यस अनुसार विपद् जोखिम क्षेत्रमा सूचना सङ्कलन र सूचना प्रवाहका लागि यी पूर्वाधारहरू प्रयोग भएका छन् । सूचना सङ्कलन अन्तर्गत बाढी पहिरो लगायतका विपद् जोखिम क्षेत्रमा रहेका ‘वेदर स्टेसन’हरुबाट जल तथा मौसम विज्ञान विभागको केन्द्रीय सर्भरमा मौसम सम्बन्धी सूचना सङ्कलनको लागि नेपाल टेलिकमका सिमकार्डमार्फत कनेक्टिभिटी उपलब्ध रहेको छ । नेपाल टेलिकमले यसका लागि ३०० एमबी डाटा सुविधा सहितको सिमकार्ड उपलब्ध गराएको छ ।

त्यसैगरी सम्बन्धित क्षेत्रमा रहेका नागरिकहरूमा सम्भावित जोखिमबाट सतर्क गराउन ११५५ कोडबाट पूर्व सूचना प्रवाह गरिरहेको छ । यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरूको नम्बर मौसम विज्ञान विभागलाई उपलब्ध गराउँदै आएको छ भने सबै सेवा निःशुल्क रूपमा उपलब्ध गराइरहेको छ ।

विपद्को पूर्व जानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकोले कम्पनी र जल तथा मौसम विज्ञान विभागबिच सहकार्य गरिएको हो । यो सहकार्य २०७३ सालदेखि नै निरन्तर रहेको कम्पनीले जनाएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया