काठमाडौँ। आज ६७औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताको साथ मनाइँदै छ।
नेपालको हकमा २०१३ साल चैत्र २० गते चितवनको शारदा नगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’नाराका साथ दिवस मनाउने तयारी भएको छ ।
देशभर अहिले करिब ३० हजारको सङ्ख्यामा सहकारी रहेको तथ्याङ्क छ । सहकारी क्षेत्रमा झन्डै ६० लाख सदस्य छन्। सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ। कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रले गरेको विज्ञहरूको भनाई छ ।
सहकारी क्षेत्रमा सङ्ख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न नसक्दा तथा विविध विकृति र विसङ्गतिका कारण यसको लोकप्रियता पछिल्लो समय खस्कँदै गइरहेको छ । केही स्वार्थ समूहले गरेको अपचलनका कारण पनि पछिल्लो समय सहकारी क्षेत्र बदनाम बनेको छ,धेरै बचतकर्ता पीडित छन् ।
सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी महासङ्घ लगायतका सरोकारवाला निकायले आज विविध अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गर्ने भएका छन् ।
प्रतिक्रिया