यी छ कम्पनीको साधारण सभा आज , कुन-कुनले दिँदै छन् लाभांश ?

२ हप्ता अगाडि

काठमाडौं - यस वर्षको अन्तिम समयमा आज बिहीबारका दिन नेप्सेमा सूचीकृत आधा दर्जन कम्पनीको वार्षिक साधारण सभा बस्ने भएका छन्।

यस दिन साधारण सभा बस्नेमा मैलुङ्ग खोला जलविद्युत, समता घरेलु लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, सानिमा जीआइसी इन्सुरेन्स र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन् । त्यसमध्येमा मैलुङ्ग खोला र समता घरेलु लघुवित्तले मात्रै लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रताव गरेका छन्। 

जस अनुसार मैलुङ्ग खोला जलविद्युत कम्पनीको सभा लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। 

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि समावेश गरेको छ। सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, चैत १५ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

समता घरेलु लघुवित्तको सभा नमोबुद्ध ब्याक्वेट एन्ड इभेन्ट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सुरु हुने भएको छ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। 

सभा प्रयोजनका लागि कम्पनीले चैत १९ गते बुक क्लोज गरिसकेको छ। तसर्थ,चैत १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।

मनकामना स्मार्ट लघुवित्तको सभा होटल पौवा सिद्धार्थनगद–६,रुपन्देहीमा दिउँसो १ बजेदेखि हुनेछ। यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ। कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ। चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् । 

हिमाल दोलखा हाइड्रोपावरको आज एकैसाथ २ आर्थिक वर्षको वार्षिक साधारण सभा बस्दैछ। सभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सेयरधनीको हात खाली हुनेछ। सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। साधारण सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ। यता, सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते बुक क्लोज गरिसकेको छ ।

सानिमा जीआइसी इन्सुरेन्सको सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले साधारण सभामा ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्दैछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । त्यसको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो ।

साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । यस इन्सुरेन्सले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गरिसकेको छ । 

युनाइटेड मोदी हाइड्रोपावरको सभा कालिमाटी ब्यांकेट, कालिमाटीमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन । तर, चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव भने पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत ६ गतेसम्म कायम  रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनछन् । हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । 

२ हप्ता अगाडि

प्रतिक्रिया