काठमाडौँ - नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रले कृषि इन्जिनियरलाई मल्टी स्पेक्ट्रल ड्रोन सञ्चालनका लागि दुईदिने तालिम दिएको छ ।
नार्कले यस्तो तालिम पहिलो पटक सञ्चालन गरेको हो । नेपालको कृषिमा ड्रोनको प्रयोग खासै छैन । आवश्यकता भए पनि नीतिका कारण ड्रोन प्रयोगमा ल्याउन नसकिएको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुखले बताए । हाल कृषिका लागि निजी क्षेत्रमा दुई र सरकारी तहमा दुई गरी चार वटा ड्रोन मात्र प्रयोगमा रहेको उनले जानकारी दिए । बढ्दो यान्त्रिकीकरण तथा आधुनिकीकरणका कारण ड्रोन प्रविधिको आवश्यकता देखिएका कारणले नै पहिलो चरणमा इन्जिनियरलाई तालिम दिएको बताउँदै उनले ड्रोन प्रयोग गर्नका लागि नागरिक उड्डयन प्राधिकरणमा दर्ता तथा जिल्ला प्रशासन कार्यालयबाट उडानका लागि अनुमति लिनुपर्ने बताए।
ड्रोन प्रयोगका लागि नीतिगत सुधारको आवश्यकता पनि देखिएको छ । यसका लागि स्पष्ट नीति नै नभएका कारण व्यापक प्रयोगका लागि नीतिगत सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । हालसम्म कृषि मन्त्रालयले नक्साङ्कन तथा विभिन्न अनुसन्धानका लागि ड्रोन प्रयोगमा ल्याइरहेको छ तर अब बहु प्रयोगका लागि पनि ड्रोनको आवश्यकता महसुस भइरहेको छ ।
प्रतिक्रिया