काठमाडौं - दशैं नेपाली समाजमा मनाइने सबैभन्दा ठूलो सांस्कृतिक पर्व हो । यसको धार्मिक महत्व पनि रहेको छ । उसो त नेपालमा सबै सम्प्रदाय र धर्मका चावपर्वहरु आ आफ्नो परम्परा अनसार मनाउने गरिन्छ । सधैंझैं यस वर्ष पनि नेपालीहरु बडादशैंको हर्षोल्लासको व्यग्र प्रतिक्षामा रहेका छन् । ८० प्रतिशतभन्दा बढी हिन्दुहरु रहेको देशमा दशैंलाई महान चाड भन्नु सांस्कृतिक तथा सामाजिक रुपले जायज कुरा हो ।
दशैंको अवसरमा ठूला शहरहरुमा देखिने सुनसान सडक तथा बन्द पसलहरुले पनि यसको सामाजिकरसांस्कृतिक विविधता झल्काउँछ । एकता र सद्भाव पनि यही विन्दुमा झल्किन्छन् ।
संसारका सबै देशमा कुनै विशेष पर्वको अवसरमा लामो बिदा दिने गरिन्छ, भारतमा दीपावली, चीनमा चिनियाँ नयाँ वर्ष, दक्षिण कोरियामा छुसक र नेपालमा दशैं । यस्तो लामो बिदाको समयमा उपभोगमा आधारित आर्थिक क्रियाकलापहरुमा विशेष वृद्धि हुन्छ । यी पर्वहरु मानिसहरुले आफ्नो आर्थिक हैसियत अनुसार मनाउने गर्दछन् ।
नेपालमा दशैं सबैभन्दा लामो बिदा हुने पर्व पनि भएकाले यसको छुट्टै र विशेष प्रकारको आर्थिकरसामाजिक महत्व छ । दशैंले नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु महत्वपूर्ण छन् ।
नेपालीहरुको उपभोग प्रवृत्ति र अर्थतन्त्रको संरचना हेर्दा आन्तरिक उत्पादनभन्दा आयातीत वस्तुहरुको माग धेरै छ । आन्तरिक उत्पादनलाई समयानुसार विविधीकरणा गर्न नसकिएकाले गर्दा आयातीत वस्तुहरुको माग बढ्नु स्वाभाविकै हो ।
जब मानिसहरु आफ्नो आर्थिक क्ष्मता भुलेर पर्व मनाउन खोज्छन् त्यसले समस्याको बोझ थप्ने गर्दछ । त्यसैले दशैंलगायत सबै चाडपर्व र सांस्कृतिक रीतिरिवाजहरुलाई देखासिखीमा मनाउँदा ऋणमा फस्ने सम्भावना अत्यधिक देखिन्छ । यसकारण आर्थिक हिसाबले दशैंको सकारात्मक र नकारात्मक दुवै पक्ष छन्, ।
आर्थिक दृष्टिले प्रत्येक चाडपर्वका सकारात्मक तथा नकारात्मक पक्षहरु हसन्छन् नै । दशैंको समयमा लामो विदा र वस्तुहरुको किनबेच धेरै हुने तथा पारिवारिक मेलमिलापका लागि लामो यात्रासमेत गरिने भएकाले आर्थिक क्रियाकलापका हिसाबले समग्र नेपाली अर्थतन्त्रमा दशैंका धेरै सकारात्मक पक्ष भेटिन्छन् ।
दशैंमा आयातमा धेरै वृद्धि हुने भएकाले भन्सार विन्दुमा उठाइने करका साथै आयकरसमेत धेरै उठ्ने गर्छ । यसले समग्र राजस्व परिचालनको क्षेत्रलाई वृद्धि गरी आयातमुखी राजस्व संरचनालाई इंगित गर्छ । त्यसैले राजस्व वृद्धिमा दशैंको उल्लेख्य भूमिका हुन्छ ।
उत्पादनका हिसाबले पनि यो पर्वको महत्व रहेको छ । दशैंको समयमा धेरै बिक्री गर्न सकिने आशाका कारण नयाँ आर्थिक वर्षको शुरुवातदेखि नै उत्पादन क्षमतालाई अधिक प्रयोग गरेर धेरैजसो नेपाली उद्योगले आफ्नो उत्पादन परिमाणलाई वृद्धि गर्छन् । एक अनौपचारिक तथ्यांकलाई आधार मान्ने हो भने दशैंका लागि उद्योगहरुले नियमितभन्दा ६० प्रतिशतभन्दा बढीले उत्पादन वृद्धि गर्छन् ।
अहिले त घर समेत दशैंको अफरमा रहेको भनेर विज्ञापन गरेको देखिन्छ । यसै पनि दशैंमा बिक्रेताहरुले वस्तु तथा सेवाको बिक्रीमा विभिन्न प्रकारका आकर्षक अफरहरु दिने तथा उपभोक्ताले धेरै वस्तु खरिद गर्ने गर्छन् । नेपालमा दशैंको समयमा हुने बिक्रीलाई अमेरिका र युरोपेली देशहरुका ब्ल्याक फ्राइडे, भारतमा दीपावली र चीनमा नयाँ वर्षमा हुने बिक्रीसँग तुलना गर्न सकिन्छ । यसर्थ, नेपालमा दशैं तथा दिपावलीको समयमा हुने आर्थिक क्रियाकलापको नेपाली अर्थतन्त्रलाई चलायमान गराउन महत्वपूर्ण भुमिका छ ।
नेपालको अर्थतन्त्रमा विप्रेषण्को ठूलो हिस्सा रहेको छ । नेपालका ३० लाखभन्दा बढी सक्रिय जनशक्ति विदेशमा रहेकाले विप्रेषण रकमको प्रवाह दशैंको समयमा उल्लेखनीय रुपले वृद्धि हुने गरेको छ । एक रेमिट सञ्चालकका अनुसार अन्य नियमित समयभन्दा दशैं तिहारमा विप्रेषणको प्रवाह दुई सय प्रतिशतभन्दा बढ्ने गरेको छ ।
विप्रषण रकमले नेपालको कुल गार्हस्थ उत्पादनमा करिब ३० प्रतिशतले योगदान गर्ने भएकाले यो महत्वपूर्ण क्षेत्रको रुपमा छ । यसरी दशैंको समयमा हुने विप्रेषण आयको वृद्धिले कूल गार्हस्थ उत्पादन बढाउन सहयोग गर्छ ।
पछिल्लो अध्ययनअनुसार आन्तरिक उत्पादनले नेपाली बजारको करिब ३० प्रतिशत मागलाई मात्र पूरा गर्न सक्छ । अर्थतन्त्र यसै पनि आयातमा निर्भर रहेकाले दशैंको बेलामा अत्यावश्यकीय वस्तुहरु खाद्यान्न र लत्ताकपडालगायत विलासिताका वस्तुको आयात बढ्छ ।
दशैंमा खसी बोका र भेडाच्यांग्राको आयात मात्रै १० अर्बभन्दा बढी हुन्छ । विशेष छुटका कारण उपभोक्ताले दशैंलाई किनमेलको समय बनाउने गरेका छन् । यसबेलामा जिप, कार र मोटरसाइकलको आयातमा उल्लेखनीय वृद्धि हुन्छ । यसले अनुत्पादनशील क्षेत्रमा हुने खर्च बढाउँछ ।
दशैंको आगमनसँगै नेपाली अर्थतन्त्रले आशाका किरण बोकेर आएको हुन्छ । यस समयमा हुने आर्थिक क्रियाकलापले देशको समग्र अर्थतन्त्रको आकार र संरचना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यो समयमा हुने उपभोगको प्रवृत्तिलाई समयानुकुल सुधार गर्दै ‘घाँटी हेरी हाड निल्नुपर्ने’ उखानलाई मनन गर्दै भविष्यका लागि सोच्ने बानीको विकास गर्नु आवश्यक छ ।
आजभोली दशैं लगायतका चाडपर्वहरुको मौलिकता हराउँदै जान थालेको छ । आफ्नो हार्थिक क्षमता अनुसार मनाउने भन्दा पनि छिमेकीको देखासिकी गर्ने प्रवृत्तिले दशैंमा विकृतिहरु पनि बढ्न थालेको पाइन्छ । त्यसैले दशैं कसैको लागि दशा र कसैको लागि उल्लासको पर्व बन्दै गएको छ । सचेत नागरिक र सरकारले पर्वहरुमा देखाइने आडम्बर र नचाहिंदो प्रदर्शन तथा फजुल खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्दछ ।
प्रतिक्रिया