कोशी प्रदेशको आम्दानी उत्साहजनक, विकास खर्च भने ५ प्रतिशत मात्रै

आइतबार, १३ मंसिर २०८३, १६ : ११

काठमाडौं- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा कोशी प्रदेश सरकारको राजस्व संकलन सन्तोषजनक देखिए पनि बजेट खर्चको अवस्था भने कमजोर देखिएको छ। प्रदेश सरकारले चार महिनाको अवधिमा करिब ९ अर्ब रुपैयाँ आम्दानी गर्दा खर्च भने साढे ४ अर्ब रुपैयाँमा सीमित गरेको छ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको कार्तिक मसान्तसम्मको तथ्यांकअनुसार प्रदेश सरकारको सञ्चित कोषमा राजस्व तथा अनुदानबापत ८ अर्ब ९१ करोड १५ लाख रुपैयाँ प्राप्त भएको छ। तर, सोही अवधिमा सरकारको कुल खर्च ४ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ मात्रै रहेको छ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको थियो। चार महिनामा कुल आय अनुमानको २२ प्रतिशत तथा राजस्व र अनुदानतर्फको लक्ष्यको २५.३ प्रतिशत रकम संकलन भएको छ। यद्यपि, कुल बजेटको तुलनामा खर्च प्रगति ११.१० प्रतिशतमा सीमित छ।

यसले प्रदेश सरकारको आम्दानी र खर्चबीच ठूलो अन्तर देखाएको छ। राजस्व संकलनको अवस्था तुलनात्मक रूपमा राम्रो भए पनि विकास आयोजना कार्यान्वयन र बजेट परिचालनमा सरकारको गति सुस्त देखिएको छ।

आन्तरिक राजस्व संकलनमा ८५ प्रतिशत वृद्धि

कोशी प्रदेशको आन्तरिक राजस्व संकलनमा भने उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७२ करोड ७४ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ८५ प्रतिशतले वृद्धि भई १ अर्ब ३४ करोड ९० लाख रुपैयाँ पुगेको छ।

आन्तरिक राजस्वतर्फ सवारी साधन करबाट ४३ करोड ७ लाख रुपैयाँ संकलन भएको छ। यो गत वर्षको तुलनामा ७९ प्रतिशतले बढी हो। त्यस्तै, चालक अनुमतिपत्र तथा यातायात क्षेत्रबाट ३४ करोड १९ लाख रुपैयाँ संकलन भएको छ, जुन १४७ प्रतिशतको वृद्धि हो।

घरजग्गा रजिस्ट्रेसन शुल्क ६४ प्रतिशतले बढेर ३७ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने विविध शुल्कबाट १४ करोड १८ लाख रुपैयाँ प्राप्त भएको छ। विविध शुल्कमा १०३ प्रतिशतको वृद्धि देखिएको छ।

तर, स्थानीय तहबाट प्राप्त हुने राजस्व भने ७६ प्रतिशतले घटेको छ। वार्षिक लक्ष्यको जम्मा ०.३ प्रतिशत अर्थात् १७ लाख रुपैयाँ मात्रै संकलन भएको छ।

त्यसैगरी, संघीय राजस्व बाँडफाँटबाट प्राप्त हुने रकममा पनि १५ प्रतिशतले गिरावट आएको छ। गत वर्षको तुलनामा घटेर यस शीर्षकमा २ अर्ब ९७ करोड २ लाख रुपैयाँ प्राप्त भएको छ।

संघीय अनुदानतर्फ भने १९ प्रतिशतको वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा संघीय सरकारबाट ४ अर्ब ५९ करोड २४ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ। यसमध्ये समानीकरण अनुदान २ अर्ब २७ करोड ९७ लाख, सशर्त अनुदान १ अर्ब ८५ करोड २४ लाख, समपूरक अनुदान २७ करोड ८६ लाख र विशेष अनुदान १८ करोड १८ लाख रुपैयाँ रहेको छ।

विकास बजेट खर्च ५.१४ प्रतिशतमा सीमित

प्रदेश सरकारको विकास बजेट खर्चको अवस्था सबैभन्दा कमजोर देखिएको छ। चालु खर्च र स्थानीय तहमा जाने अनुदानको तुलनामा पुँजीगत खर्च निकै न्यून रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ।

कार्तिक मसान्तसम्म प्रदेश सरकारले चालु खर्चतर्फ २ अर्ब १४ करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ। स्थानीय तह अनुदानतर्फ १ अर्ब २७ करोड ४६ लाख रुपैयाँ खर्च भएको छ।

तर, विकास निर्माणका लागि विनियोजन गरिएको २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँमध्ये जम्मा १ अर्ब ६ करोड ६८ लाख रुपैयाँ मात्रै खर्च भएको छ। यो कुल पुँजीगत बजेटको ५.१४ प्रतिशत मात्र हो।

मासिक खर्चको विवरणले पनि बजेट कार्यान्वयनमा असमानता देखाएको छ। चार महिनाको कुल खर्चमध्ये ६८ प्रतिशत रकम असोज महिनामा मात्रै खर्च भएको छ।

असोजमा ३ अर्ब ६ करोड ५७ लाख रुपैयाँ खर्च भएको थियो। भदौमा ८६ करोड १० लाख र कार्तिकमा ५४ करोड ८३ लाख रुपैयाँ खर्च भएको छ। सबैभन्दा कम श्रावण महिनामा १ करोड ३९ लाख रुपैयाँ मात्रै खर्च भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

सरकारको फेरबदल र बजेट संशोधनले खर्च प्रभावित

पछिल्ला तीन आर्थिक वर्षको कार्तिक मसान्तसम्मको खर्च तुलना गर्दा चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि आर्थिक वर्ष २०८१/८२ को तुलनामा खर्चको गति कमजोर रहेको छ।

गत आर्थिक वर्षमा जेनजी आन्दोलनका कारण बजेट कार्यान्वयन प्रभावित भएको थियो। तर, चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारको खर्च क्षमतामा अपेक्षित सुधार आउन सकेको छैन।

सरकारका मन्त्रीहरूको फेरबदल, बजेट संशोधनको तयारी तथा बजेट कार्यान्वयनप्रतिको उदासीनतालाई खर्च न्यून हुनुका प्रमुख कारणका रूपमा हेरिएको छ।

राजस्व संकलनमा सुधार देखिए पनि विकास बजेट खर्च हुन नसक्दा प्रदेशका पूर्वाधार तथा विकास आयोजनाको कार्यान्वयनमा ढिलाइ हुने जोखिम बढेको छ। आम्दानीअनुसार खर्च बढाउन नसक्नु कोशी प्रदेश सरकारका लागि बजेट कार्यान्वयनको मुख्य चुनौती बनेको छ।

आइतबार, १३ मंसिर २०८३, १६ : ११

प्रतिक्रिया