काठमाडौं- एमभी दुगड ग्रुपले चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड ‘काइफेङ’ (KAIFENG) लाई नेपाली बजारमा भित्र्याउने भएको छ। नेपालका लागि आधिकारिक वितरक नियुक्त भएको दुगड अटो क्लिनिक प्रालिले काइफेङका तीनवटा विद्युतीय सवारीसाधनका मोडल नेपाली बजारमा ल्याउन लागेको हो।
काइफेङ चीनको अटोमोबाइल क्षेत्रमा सक्रिय ब्रान्ड हो। कम्पनीले विद्युतीय सवारीसाधन उत्पादन, अनुसन्धान तथा विकास, सवारीका पार्टपुर्जा निर्माण, निर्यात र अन्य कम्पनीका लागि सवारी उत्पादनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। कम्पनीको उत्पादन कारखाना चीनको जियाङ्सु प्रान्तस्थित दानयाङ सहरमा रहेको छ।
कम्पनीले नानतोङ र सांघाईमा संयुक्त प्राविधिक अनुसन्धान तथा विकास केन्द्र सञ्चालन गरेको जनाएको छ। उत्पादन विकास, प्रविधि र उत्पादन व्यवस्थापनमा करिब १५० जना प्रमुख सदस्य संलग्न रहेको कम्पनीको भनाइ छ।
काइफेङले नेपालसहित पाकिस्तान, इजिप्ट, टर्की, इथियोपिया, इरिट्रिया, श्रीलंका, कंगो, नाइजेरिया र म्यानमारलगायतका देशमा आफ्नो व्यावसायिक उपस्थिति विस्तार गरिरहेको छ।
नेपालमा बिक्री तथा सेवा सञ्जाल विस्तार गरिँदै
नेपाली बजारमा काइफेङका सवारीसाधन बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउन दुगड अटो क्लिनिक प्रालिले तयारी अघि बढाएको छ। कम्पनीले काठमाडौंको पानीपोखरीमा बिक्री कक्ष र बालाजुमा बिक्रीपछिको सेवा केन्द्र स्थापना गरिसकेको छ।
एमभी दुगड ग्रुपका १६ वटा शाखामार्फत समेत निकट भविष्यमा काइफेङका सवारीसाधनको बिक्री तथा मर्मत सेवा विस्तार गर्ने योजना रहेको कम्पनीका व्यावसायिक प्रमुख नवीन फुयालले जानकारी दिएका छन्।
तीन प्रकारका विद्युतीय सवारी नेपाली बजारमा
कम्पनीले नेपाली बजारमा तीन फरक प्रयोजनका विद्युतीय सवारीसाधन उपलब्ध गराउने तयारी गरेको छ। तीमध्ये यात्रुवाहक विद्युतीय भ्यान, मालवाहक विद्युतीय ट्रक र व्यक्तिगत प्रयोगका लागि विद्युतीय कार रहेका छन्।
१. केएफ ५०३९ विद्युतीय यात्रुवाहक भ्यान
काइफेङको केएफ ५०३९ विद्युतीय भ्यान १४ सिट क्षमताको व्यावसायिक सवारी हो। यसमा ६२.२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री र ८० किलोवाटको मोटर जडान गरिएको छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले ३५० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ।
यसमा यात्रुको सुरक्षाका लागि एबीएस, विद्युतीय स्टेयरिङ प्रणाली, टायरको हावाको चाप निगरानी प्रणाली, केन्द्रीय ढोका ताल्चा प्रणाली, १०.१ इन्चको मल्टिमिडिया टचस्क्रिन, पछाडिको दृश्य देखाउने क्यामेरा तथा पार्किङ सेन्सर उपलब्ध छन्।
त्यस्तै, द्रुत चार्जिङ सुविधा, विद्युतीय रूपमा मिलाउन सकिने साइड मिरर, तातो हावा दिने पछाडिका मिरर, वातानुकूलित प्रणाली, विद्युतीय झ्याल र आन्तरिक प्रकाश सुविधासमेत यसमा समावेश छन्।
२. केएफ १०२१ विद्युतीय हलुका ट्रक
मालसामान ढुवानीलाई लक्षित गरी ल्याउन लागिएको केएफ १०२१ विद्युतीय हलुका ट्रकमा ४१.८६ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री प्रयोग गरिएको छ। यसमा ७० किलोवाट क्षमताको मोटर रहेको छ।
कम्पनीका अनुसार यो ट्रकले एकपटक पूर्ण चार्जमा २९० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ। यसको मालवहन क्षमता १.५ टन रहेको छ। १९५/७० आर१५ आकारका टायर जडान गरिएको यो विद्युतीय ट्रक व्यावसायिक मालसामान ढुवानीका लागि लक्षित छ।
३. केएफडी०१ विद्युतीय कार
काइफेङले व्यक्तिगत तथा पारिवारिक प्रयोगलाई लक्षित गर्दै केएफडी०१ विद्युतीय कार पनि नेपाली बजारमा ल्याउने तयारी गरेको छ।
यस कारमा ३१.९५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री र ४५ किलोवाटको मोटर जडान गरिएको छ। पाँच सिट क्षमताको यस कारले एकपटक पूर्ण चार्ज गर्दा ३०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ। यसको ग्राउन्ड क्लियरेन्स १७० मिलिमिटर रहेको छ।
सुरक्षा तथा सुविधाका हिसाबले यसमा एबीएस, ईबीडी, विद्युतीय स्टेयरिङ प्रणाली, एयरब्याग, वातानुकूलित प्रणाली, हिटर, मल्टिमिडिया टचस्क्रिन, पछाडिको दृश्य देखाउने क्यामेरा र पार्किङ सेन्सर उपलब्ध छन्।
यसका अतिरिक्त छालाका सिट, मखमली कार्पेट, विद्युतीय झ्याल, अतिरिक्त टायर, स्टेयरिङमा अडियो नियन्त्रण बटन, स्टेयरिङ मिलाउने सुविधा तथा द्रुत डीसी चार्जिङ प्रणालीसमेत दिइएको छ।
तीन फरक प्रयोजनका विद्युतीय सवारीसाधनमार्फत काइफेङले नेपालको यात्रुवाहक, व्यक्तिगत तथा व्यावसायिक ढुवानी बजारलाई लक्षित गरेको देखिन्छ। एमभी दुगड ग्रुपको बिक्री तथा सेवा सञ्जालमार्फत यी सवारीसाधन नेपाली उपभोक्तासम्म पुर्याउने कम्पनीको योजना छ।
यद्यपि, तीनवटै मोडलको नेपाली बजार मूल्य, बिक्री सुरु हुने मिति र उपलब्धताबारे भने कम्पनीले थप जानकारी सार्वजनिक गर्न बाँकी छ।
प्रतिक्रिया