काठमाडौं- नेपाली पावर लिफ्टिङ खेलाडी मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ । पावर लिफ्टिङ क्षेत्रमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका श्रेष्ठलाई आगामी खेल यात्रामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले सहकार्य गर्न लागेको जनाएको छ ।
सन् २०१७ देखि पावर लिफ्टिङ क्षेत्रमा सक्रिय श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् । उनले सन् २०२५ मा सम्पन्न अन्तर्राष्ट्रिय वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।
त्यस्तै, उनले एनवाईएफसी क्लासिक २०२४ र फर्स्ट भ्याली लेभल ओपन पावरलिफ्टिङ च्याम्पियनसिप २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरेका छन् । श्रेष्ठले बेन्च प्रेसमा १८० केजी र पावरलिफ्टिङ टोटलमा ७८१ केजीको रेकर्ड कायम गरेका छन् । उनले दुबईमा राष्ट्रिय रेकर्डसमेत बनाएका छन् ।
अन्डर ८३ किलोदेखि मेन्स १२० किलोसम्मका विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्दै आएका श्रेष्ठले नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स (एनवाईएफसी) द्वारा आयोजित प्रतियोगिताहरूमा पनि निरन्तर सफलता हासिल गर्दै आएका छन् ।
श्रेष्ठको निरन्तर मेहनत, अनुशासन र खेलप्रतिको समर्पणको सम्मान गर्दै शिवम् सिमेन्टले उनको आगामी खेल यात्रालाई सहज र उत्कृष्ट बनाउन सहकार्य गर्न लागेको जनाएको छ । गुणस्तर र मजबुतीलाई आफ्नो पहिचान बनाउँदै आएको शिवम् सिमेन्टले श्रेष्ठको शक्ति, आत्मविश्वास र दृढतालाई आफ्नो ब्रान्डको मूल्यसँग जोडेको जनाएको छ ।
प्रतिक्रिया