काठमाडौं- घरायसी इलेक्ट्रोनिक्स तथा उपकरणको खरिदलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) बीच वित्तीय सहकार्य सुरु भएको छ।
‘विश्वासको नयाँ हातेमालो’ सन्देशसहित सुरु गरिएको यस सहकार्यअन्तर्गत ग्राहकले लागू सर्तअनुसार शून्य प्रतिशत ब्याजदरमा सहज मासिक किस्ता (ईएमआई) सुविधामार्फत विभिन्न घरायसी उपकरण खरिद गर्न सक्नेछन्।
यस योजनाले एकैपटक ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता कम गर्दै ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार इलेक्ट्रोनिक्स सामग्री खरिद गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। नयाँ घर सजाउन, पुराना उपकरण परिवर्तन गर्न तथा दैनिक जीवनलाई थप सुविधाजनक बनाउन चाहने ग्राहक यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ।
योजनाअन्तर्गत एलजी, सिजी, एमआई, टीसीएल, गोदरेज, बेको, सेनसेई, मिडिया, ब्ल्याक एन्ड डेकर, क्रम्पटन, भिजिया, केन्ट, बोस र गुडम्यान्सलगायत विभिन्न ब्रान्डका उत्पादन खरिद गर्न सकिनेछ। टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर तथा भान्सा र घरायसी प्रयोगका अन्य उपकरणमा समेत ईएमआई सुविधा उपलब्ध हुनेछ।
‘तुरुन्तै सजिलो ईएमआई, नागरिकता भए पुग्छ’ भन्ने सन्देशसहित ल्याइएको यस योजनामा सहभागी हुन ग्राहकले नागरिकतासहित नजिकैको सीजी डिजिटल शोरुम वा सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलरमा सम्पर्क गर्न सक्नेछन्। ईएमआई स्वीकृति तथा वित्तीय प्रक्रिया एचएफएलका लागू सर्तअनुसार हुनेछ।
त्यसैगरी, पुराना उपकरण साटेर नयाँ उपकरण खरिद गर्न चाहने ग्राहकका लागि सीजी एक्स इलेक्समार्फत उपलब्ध एक्सचेन्ज तथा ईएमआई विकल्पको सुविधा पनि लिन सकिने कम्पनीले जनाएको छ।
गुणस्तरीय उत्पादनसँगै सहज वित्तीय सुविधा उपलब्ध गराउने यस सहकार्यले ग्राहकको घरायसी आवश्यकता पूरा गर्न तथा इलेक्ट्रोनिक्स उपकरणको खरिद प्रक्रियालाई थप सरल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। ग्राहकले योजनामा समावेश उत्पादन, किस्ता अवधि, डाउन पेमेन्ट तथा अन्य सर्तबारे नजिकको सीजी डिजिटल शोरुम वा आधिकारिक डिलरबाट जानकारी लिन सक्नेछन्।
प्रतिक्रिया