कवि शकुन्तलाको ‘भावनाका इन्द्रेणी’ लोकार्पण

आइतबार, १३ मंसिर २०८३, १२ : ३१

काठमाडौं- कवि शकुन्तला अधिकारी खनाल ‘शकुन’द्वारा रचित कवितासङ्ग्रह ‘भावनाका इन्द्रेणी’ लोकार्पण गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरअन्तर्गत बागमती प्रदेश समितिको आयोजनामा शनिबार भरतपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एलबी क्षेत्री, सभापति सुरेन्द्र अस्तफल, लेखककी आमा कल्पना खनाल, पति दुर्गाभक्त अधिकारी र राजनीतिक व्यक्तित्व रामकृष्ण घिमिरेले संयुक्तरूपमा कृति लोकार्पण गरेका हुन् ।

लोकार्पणपछि कृतिमाथि मेनका चापागाईं काप्री र गणेश श्रमणले समीक्षात्मक टिप्पणी गरेका थिए । टिप्पणीकार चापागाईंले कवितामा वैदेशिक रोजगारीका बाध्यता, नारीका पीडा र द्वन्द्वकालीन बज्रपातलाई उजागर गरिएको बताइन् । कविको पहाडी घर लमजुङदेखि चितवन हुँदै अमेरिकासम्मका सुखदुःखका अनुभवलाई कवितामा समेटिएको पनि उनले उल्लेख गरेकी थिइन् ।

अर्का टिप्पणीकार श्रमणले कवितामा कविको जीवन प्रतिबिम्बित भएको बताए । दृष्टिकोण र विचारका हिसाबले कविताहरू सशक्त रहेको उल्लेख गर्दै उनले भने, ‘शीर्षकअनुसारका कविता छन् । कविले कवितामार्फत गुनासो गर्नुभएको छैन । आग्रह गर्नुभएको छैन । कवितामा सकारात्मक चिन्तन छन् ।’

कार्यक्रममा कविका भाइ भुवन खनालले स्वागत मन्तव्य राखेका थिए । प्राध्यापक इन्द्रविलास घिमिरे, अनेसास बागमतीका पूर्वअध्यक्ष केदारनाथ खनाल, अनेसास चितवनका अध्यक्ष लकास पौडेल र सामाजिक तथा राजनीतिक व्यक्तित्व रामकृष्ण घिमिरेले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा शान्ति शर्मा र मीना रिमालले लोकार्पित कृतिबाट क्रमशः ‘छोरीको बिदाइ’ र ‘कहिलेकाहीँ’ शीर्षकका कविता वाचन गरेका थिए भने कार्यक्रमलाई अनेसासका आजीवन सदस्य लेखराम सापकोटाले सहजीकरण गरेका थिए । प्रस्तुत कृतिलाई अनेसास वासिङ्टन डिसी मेट्रो च्याप्टरले प्रकाशन गरेको हो भने कृतिको सम्पादन रमेश दाहालले गरेका हुन् । 

कार्यक्रम ग्लोबल होटल, भरतपुर चितवनमा सम्पन्न भएको थियो ।

आइतबार, १३ मंसिर २०८३, १२ : ३१

प्रतिक्रिया