अनिश्चित विश्व बजारबीच ओपेक प्लसको उत्पादन कोटा निर्धारण बैठक आइतबार बस्दै

आइतबार, १३ मंसिर २०८३, १३ : १८

काठमाडौं- साउदी अरब, रुस र ओपेक प्लसका अन्य १९ सदस्य राष्ट्रहरूले आइतबार अनलाइन बैठक गरी अर्को वर्षका लागि आफ्ना उत्पादन कोटाहरू निर्धारण गर्ने भएका छन् ।

विश्लेषकहरूले अनिश्चित बजार दृष्टिकोणका बीच कठिन वार्ताको अपेक्षा गरेका छन् ।

पेट्रोलियम निर्यातक देशहरूको सङ्गठनका १२ सदस्य र यसका सहयोगीहरू (ओपेक प्लस) ले प्रत्येक सदस्यका लागि नयाँ आधारभूत क्षमता स्तरको जल्दोबल्दो मुद्दालाई पनि सम्बोधन गर्नेछन्, जसले उत्पादन कोटाको आधार बनाउँछ । 

ओपेक सदस्य इरानविरुद्ध अमेरिकाको युद्ध र युक्रेनमा रुसको आक्रमणमा ऊर्जा पूर्वाधारमाथिको आक्रमण बढ्दा परिदृश्य अस्पष्ट बनेको छ । 

रिष्ट्याड इनर्जीका विश्लेषक जर्ज लियोनले एएफपीसँग भने, “यो वर्षौंमा सबैभन्दा जटिल ओपेक प्लस बैठक हुनेछ।” 

उनले भने, “सङ्गठनका लागि केही लक्ष्यहरू ठोस रूपमा निर्धारण गर्न निकै गाह्रो हुनेछ।” ब्लूमबर्गले ओपेक प्लसले भूराजनीतिक अनिश्चितताका कारण जनवरीका लागि हालका उत्पादन कोटाहरू कायम राख्न सक्ने रिपोर्ट गरेको छ । यसका लागि समूहका दुई अज्ञात प्रतिनिधिहरूलाई स्रोत बनाएको छ । 

युक्रेन र इरान युद्धका कारण महिनौंसम्म अभाव र आकाशिँदो मूल्यपछि नयाँ अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले चौथो त्रैमासिकमा बजारमा पुनः अतिरिक्त आपूर्ति फर्किने पूर्वानुमानसहित उत्पादन मापदण्डहरू निर्धारण गर्ने बताइएको छ। 

आपूर्ति बढ्दै गए पनि माग कमजोर छ । ग्लोबल रिस्क म्यानेजमेन्टका विश्लेषक अर्ने लोहमान रासमुसेनले भने, “विश्वव्यापी तेलको ठूलो अतिरिक्त आपूर्तिले २०२७ मा उत्पादन कटौती आवश्यक पार्न सक्छ।” यस्तो अवस्थामा ओपेक प्लस सदस्यहरूका लागि मुख्य प्रश्न कसले यो प्रयास गर्न तयार हुनेछ भन्ने हुनेछ । सन् २०२७ बाट उत्पादन कोटाको सन्दर्भका रूपमा काम गर्ने नयाँ क्षमता स्तरहरू दुई वर्षको विश्लेषणपछि बाह्य परामर्शदाता फर्म, अमेरिकास्थित डिगोइलर एण्ड म्याक्नटनद्वारा तयार पारिएको छ । 

ओपेक महासचिव हैथम अल–घाइसले नोभेम्बर मध्यमा भन्नुभएको थियो, “पहिलो पटक, अधिकतम दिगो उत्पादन क्षमताहरू स्वतन्त्र र वस्तुनिष्ठ प्रक्रियाबाट मूल्याङ्कन र स्थापित गरिएको छ ।” 

खाडीमा द्वन्द्व र रुस–युक्रेन युद्धको तीव्रताले धेरै प्रमुख सदस्य देशहरूको तेल उद्योगमा गम्भीर अवरोध पु¥याएको छ । लियोनले भने, “उत्पादनमा कमी भएका हरेक देशसँग यो कमी अस्थायी हो भन्ने विश्वसनीय तर्क छ र उनीहरू उच्च कोटाका लागि दबाब दिन सक्छन् ।”

मध्यपूर्वको युद्धबाट सबैभन्दा बढी प्रभावित खाडी उत्पादकहरू मध्ये एक इराकले आफ्नो उत्पादन क्षमताको मूल्याङ्कनलाई पहिल्यै अस्वीकार गरेको रिपोर्ट छ । नयाँ मूल्याङ्कनले यसलाई दैनिक पचास लाख ब्यारेलभन्दा कम राखेको छ, तर इराकले प्रतिदिन ५२ लाख ब्यारेल उत्पादन गर्न सक्ने दाबी गरेको ब्लूमबर्गले जनाएको छ । 

इराकी इन्धन मन्त्री बासेम खुदैयरले शुक्रबार भने, “हामी ओपेकसँग उत्पादन सीमा बढाउन वार्ता गरिरहेका छौँ र यो वार्ता केवल शिष्टाचार मात्र होइन । इराक ओपेकका संस्थापक सदस्यमध्ये एक हो, र आफ्ना अधिकारहरूको रक्षा गर्नु हाम्रो अधिकार हो।” 

डीएनबी कार्नेगीका विश्लेषकहरूले भनेका छन्, “इराकले लामो समयदेखि उत्पादन प्रतिबन्धले देशको पुनर्निर्माणका लागि वित्त जुटाउने क्षमता सीमित गर्छ भन्ने तर्क गर्दै आएको छ।” 

उत्पादन कोटामा असहमति संयुक्त अरब इमिरेट्सले यस वर्षको सुरुमै ओपेक छोड्नुको मुख्य कारण थियो । अबु धाबीले ‘राष्ट्रिय हित’ को आधारमा आफ्नो निर्णयलाई जायज ठह¥याएको थियो, किनकि उसले आफ्नो उत्पादन क्षमता उल्लेखनीय रूपमा बढाउने लक्ष्य राखेको छ। 

पीभीएमका विश्लेषक तामास भर्गाले एएफपीसँग भने, “यूएईले ओपेक छोडेपछि बाँकी सदस्यहरूसँग अतिरिक्त उत्पादन क्षमता छ, उनीहरू उच्च कोटाका लागि दबाब दिने वा अन्यथा छोड्ने चेतावनी दिन प्रोत्साहन पाउनेछन्।” 

लियोनले भने, “ओपेक प्लसले मूल्यलाई समर्थन गर्न रोकेको हरेक ब्यारेलले यूएईलाई बिक्री बढाउने अवसर सिर्जना गर्छ।” उनले अगाडि भने, “साउदी अरबपछि यूएईसँग सबैभन्दा ठूलो अप्रयुक्त तेल भण्डार थियो।” 

आइतबार, १३ मंसिर २०८३, १३ : १८

प्रतिक्रिया