कञ्चनपुरमा यो वर्ष तीन प्रतिशतले बढ्यो गहुँ उत्पादन

३ हप्ता अगाडि

काठमाडौँ-  नौ पालिका रहेको कञ्चनपुरमा यो वर्ष गहुँ उत्पादन तीन प्रतिशतले वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र महेन्द्रनगरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८०र८१ मा एक लाख एक सय ८४ मेट्रिकटन गहुँ उत्पादन भएको जनाएको छ । 

केन्द्रका सूचना अधिकृत हरिदत्त जोशीले यहाँ ३१ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा गहुँखेती हँदै आएको बताए । “यहाँ दुई दशमलव २१ प्रतिहेक्टर गहुँ उत्पादकत्व रहेको छ”, उनले भने, “गत वर्षभन्दा तीन प्रतिशतले उत्पादन बढेको छ ।” जोशीका अनुसार गत वर्ष कञ्चनपुरमा ९७ हजार तीन सय ७५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यहाँ ५९ हजार छ सय दुई हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको बताउँदै उनले यहाँ ५६ हजार ६०२ हेक्टरमा मात्रै खेती गरिँदै आएको जानकारी दिए ।  

“कञ्चनपुरमा अझै कुल जनसङ्ख्याको ७२.६३ प्रतिशत नागरिक कृषिमा निर्भर छन्”, सुचना अधिकृत जोशीले भने, “अझै सबैतिर सिँचाइ सुविधा पुग्न सकेको छैन । सिँचाइ सुविधाको पहुँच विस्तार गर्न सके उत्पादनमा पनि वृद्धि हुने थियो ।” उनले हालसम्म ४० हजार ७२५ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको जानकारी दिए ।  यहाँ निर्माणाधीन महाकाली सिँचाइ तेस्रो चरण आयोजना सम्पन्न भए कञ्चनपुरसँगै कैलालीको मालाखेतीसम्म गरी ३३ हजार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा पुग्ने छ । सुदूरपश्चिमका सात पहाडी जिल्लाका लागि कञ्चनपुर र कैलाली अन्न भण्डार मान्छिन् ।     

३ हप्ता अगाडि

प्रतिक्रिया