इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने

३ हप्ता अगाडि

काठमाडौँ -  चियाको राजधानीको नामले चिनिने इलाममा यही जेठ २६ देखि २८ सम्म अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ । नेपाली चियाको गुणस्तर विश्वमाझ पुर्‍याउन अन्तर्राष्ट्रिय चिया महोत्सव गर्न लागिएको इलाम नगपालिकाका प्रमुख केदार थापाले बताए ।

उनले चिया उद्योगी, व्यवसायी  किसान तथा अन्तर्राष्ट्रिय चिया पारखी र व्यवसायीलाई समेट्ने गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । नेपालको चिया विश्वमा नै स्वादिष्ट र अग्र्यानिक मानिए पनि प्रचारप्रसार नहुँदा किसान तथा व्यापारीले कम मूल्यमा बिक्री गर्नुपरिरहेको गुनासो बढेपछि नगरपालिकाको अगुवाइमा चिया महोत्सव आयोजना गरिएके हो ।महोत्सवपछि इलामसहित नेपालमा उत्पादित चिया अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन र बजारीकरण गर्न सहजता हुने अपेक्षा गरिएको छ ।

महोत्सवपछि चिया किसान, व्यापारी र विदेशी चिया व्यापारीबीचको दूरी कम हुँदै जाने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्षले बताए । उनका अनुसार इलाममा १९२० सालमा नै चिया रोपन सुरु भएको इतिहास छ । महोत्सवमा इलाममा उत्पादन हुने सबैखाले चियालाई समावेश गराइनेछ । विदेशी चिया पारखी तथा चिया व्यापारीले महोत्सवबाट चिया खरिद तथा बिक्री गर्नसक्ने आयोजकले जनाएको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया