चालु आवमा सबै बालीको उत्पादन बढ्ने अनुमान

३ हप्ता अगाडि

काठमाडौँ - आर्थिक सर्वेक्षण २०८०\०८१ मा धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन ४.३६ प्रतिशत तथा नगदेबालीका रूपमा रहेका आलु र तेलहन बालीको उत्पादन ५.०७ प्रतिशतले बढ्ने अनुमान छ । 

औद्योगिक बालीको उत्पादन ४.६३ प्रतिशत, दलहन बाली ४.७९ प्रतिशत, मसलाबाली ३.७४ प्रतिशत, फलफूल बाली ०.६७ प्रतिशत र तरकारी ०.५२ प्रतिशतले वृद्धि हुने अनुमान छ । चालु आर्थिक वर्षमा धानको उत्पादन ४.३३ प्रतिशतले वृद्धि भई जम्मा उत्पादन ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो । धानबालीको औसत उत्पादकत्व गत आर्थिक वर्षको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ प्रतिशत पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्व भन्दा ६.९२ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्ष २०८०\८१ मा कुल बाली उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४४.६१ प्रतिशत, तरकारी १७.२४ प्रतिशत, नगदेबाली १५.४२ प्रतिशत, औद्योगिक बाली १२.९९ प्रतिशत, फलफूल ६.०३ प्रतिशत र अन्यको ३.७१ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष कुल बाली उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४४.२८ प्रतिशत, तरकारी १७.७७ प्रतिशत, नगदेबाली १५.२ प्रतिशत, औद्योगिक बाली १२.८६ प्रतिशत, फलफूल ६.२ प्रतिशत र अन्यको ३.६९ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्म ३ हजार ५०० मेट्रिक टन मह उत्पादन भएको अनुमान छ । गत आर्थिक वर्ष ४ हजार ३०० मेट्रिक टन मह उत्पादन भएको थियो । चालु आर्थिक वर्षको अन्त्यसम्म मह उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले वृद्धि भई ४ हजार ३८० मेट्रिक टन पुग्ने अनुमान छ । हाल देशभरी करिब १६ हजार ५ सय किसानहरूले मेलिफेरा र सेरेना जातको मौरीपालन व्यावसायिक रूपमा गरिरहेका छन् । देशभर रहेका ३ लाख ५० हजार मौरीगोलामा सरदर प्रति गोला एपिस मेलिफेरामा ३० देखि ३५ किलोग्राम र एपिस सेरेनामा ८ देखि १५ किलोग्रामको दरले मह उत्पादन भएको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया