१३१ मेट्रिक टन रासायनिक मल भित्रिने

विहीबार, ३१ जेठ २०८१, १६ : ३०

काठमाडौँ - कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार रासायनिक मलको पछिल्लो विवरण सार्वजनिक गर्दै १३१ मेट्रिक बाटोमा रहेको जनाएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार ५१ हजार मेट्रिक टन डीएपी विशाखापटमबाट नेपाल निर्यात हुँदै छ ।

सोबाट केही परिमाणको मल नेपाल भित्रिसकेको छ । यस्तै, जीटुजीबाट नेपाल आयात हुने मलमध्ये २५ हजार मेट्रिक टन डीएपी मल स्रोत मुलुकबाट चलान हुने र असारको दोस्रो हप्ता नेपाल आइपुग्ने उल्लेख छ ।  यस्तै, २५ हजार मेट्रिक टन डीएपी र ३० हजार मेट्रिक टन युरिया मल कोलकाता आइसकेको र असारको पहिलो हप्ताबाट नेपाल भित्रिने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हाल ९४ हजार ५ सय १३ मेट्रिक टन रासायनिक मल मौज्दात छ । हाल मौज्दात रासायनिक मलमध्ये कृषि सामाग्री कम्पनी लिमिटेडसँग ६१ हजार १३६ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिडेटसँग ३३ हजार ३७७ मेट्रिक टन रहेको मन्त्रालय तथ्याङ्कमा उल्लेख छ । यस्तै, युरिया ६१ हजार ६०५ मेट्रिक टन, डीएपी २२ हजार ४०६ र पोटास १० हजार ५०२ मेट्रिक टन रासायनिक मल मौज्दात छ ।  मन्त्रालयले रोपाइँको समयमा रासायनिक मलको अभाव नहुने दाबी गर्दै आएको छ ।

विहीबार, ३१ जेठ २०८१, १६ : ३०

प्रतिक्रिया