गाँजा खेतीको वैधानिकताका लागि युवाद्वारा अभियान सुरु

शनिबार, ०१ असार २०८१, १८ : २०

काठमाडौँ - गाजा खेती गर्न युवाहरुले बहस सुरु गरेका छन ।  गाँजा खेतीको वैधानिकताका लागि मकवानपुरका युवाहरुले अभियान सुरु गरेका हुन ।

शनिबार मनहरी गाउँपालिका- ८ स्थित पिस पार्कमा युवाहरुले जनप्रतिनिधि सहितको भेला आयोजना गरी गाँजाखेतीको वैधानिकताका लागि स्थानीय तहबाटै राज्यस्तरमा पहल गर्न दबाब सिर्जना गरेका हुन् ।लामो समयदेखि गाँजाको वैधानिक खेतीका लागि अभियान सञ्चालन गरिरहेका युवा अभियान्ता राजेश भेटवालको अगुवाइमा भएको भेलामा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका प्रमुख, वडा अध्यक्ष एवम् गाँजा बोक्दा जेल जीवन विताइरहेका भरियाका परिवारको सहभागिता रहेको थियो ।

‘गाँजा खेतीको वैधानिकता, सम्भाव्यता अध्ययन तथा गाँजा ओसारपसारमा गर्दा राज्यबाट पक्राउ गरी जेलजीवन विताइरहेकाहरुको रिहाइको माग गर्दै हामीले भेला आयोजना गरेका हौं ।’, अभियान्ता भेटवालले स्थानीय तह, प्रदेश र संघीय सरकारले यस विषयमा अब निर्णय गर्न ढिलाई गर्न नहुने बताए ।‘गाँजा बोक्ने भरियारहरु अनाहकमा जेल जीवन विताइरहेका छन् । राज्यले वैधानिकताको सवाल उठाउने अनि मौन बस्ने गर्दा सोझा जनताहरु समस्यामा परिरहेका छन् ।’, उनले यस विषयको सुनुवाइ छिट्टै नभएको खण्डमा चरणबद्ध आन्दोलनको तयारी समेत गरिरहेको बताए ।

मकवानपुर जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका गाँजा खेती हुने क्षेत्र हो । यस क्षेत्रबाट वर्षेनी सयौं युवाहरु गाँजा बोकेका कारण जेल जीवन विताउन बाध्य भइरहेका छन् । भेलामा मनहरी गाउँपालिकाका प्रमुख रञ्जन कालाखेती, राक्सिराङ गाउँपालिका प्रमुख राजकुमार मल्ल र कैलाश गाउँपालिका प्रमुख लोक मोक्तानले स्थानीय तहले निर्माण गर्ने नीति तथा कार्यत्रम र बजेटमा यस विषयलाई समावेश गर्ने, आफ्नो स्थानीय तहबाट जेल जीवन विताइरहेकाहरु तथ्यांक राख्ने र गाँजाको वैधानिकताका लागि प्रदेश र संघीय सरकारलाई विभिन्न कार्यक्रम गरी दबाब सिर्जना गर्ने प्रतिबद्धता भेलामा जनाएका थिए ।

भेलामा वनविज्ञान विद्यार्थी साधना पौडेल र डा। भोला भट्टराईले गाँजा खेती र वैधानिकता विषयमा प्रष्ट्याइएका थिए ।  भेलामा मनहरी–७ का वडा अध्यक्ष ठाकुराम तितुङले राज्यले छिट्टोभन्दा छिट्टो यो विषय टुंगोमा पुर्‍याउन जरुरी रहेको बताए । ‘यस क्षेत्रमा रोजगारीको अवसर छैन । राज्यको उपस्थिति शुन्य जस्तै छ । यस क्षेत्रका लागि गाँजा खेती बरदान जस्तै हो ।’, उनले भने ।
 

शनिबार, ०१ असार २०८१, १८ : २०

प्रतिक्रिया