गण्डकीमा करिब ९२ प्रतिशत रोपाईँ पूरा

सोमबार, १४ साउन २०८१, १२ : २५

काठमाडौँ - गण्डकी प्रदेशमा करिब ९२ प्रतिशत रोपाईँ पूरा भएको छ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीका अनुसार यस वर्ष कुल ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा हालसम्म ८८ हजार दुई सय ५२ हेक्टर क्षेत्रफलमा रोपाईँ पूरा भएको छ।

११ जिल्ला रहेको गण्डकीका हिमाल पारीको दुई जिल्ला मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लामा मात्रै धान खेती हुने गरेको छ। निर्देशनालयको तथ्याङ्क अनुसार गोरखामा ७१ प्रतिशत, लमजुङमा ९२ प्रतिशत, तनहुँमा ९५ प्रतिशत, कास्कीमा ९८ प्रतिशत, पर्वतमा ९५ प्रतिशत, स्याङ्जामा ९२ प्रतिशत, म्याग्दीमा ९४ प्रतिशत, बागलुङमा ९६ प्रतिशत र नवलपरासीमा ९३ प्रतिशत रोपाईँ भएको छ।

यी जिल्लाहरूमा क्रमशः १० हजार नौ सय ४०, ११ हजार आठ सय ७५, सात हजार छ सय ७४, १६ हजार दुई सय २०, सात हजार पाँच सय २५, १४ हजार तीन सय ९०, तीन हजार आठ सय छ, पाँच हजार सात सय सात र १८ हजार सात सय १६ हेक्टर क्षेत्रफलमा धान खेती लगाउने अनुमान गरिएको छ। निर्देशनालयले तयार पारेको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा गत वर्षको तुलनामा कम क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ। गत वर्ष कुल ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष भने यसमा एक हजार सात सय १६ हेक्टर कम क्षेत्रफलमा धान लगाउने अनुमान छ।

सोमबार, १४ साउन २०८१, १२ : २५

प्रतिक्रिया