घोराही सिमेन्ट घाटामा

बुधबार, ३० साउन २०८१, ११ : ०७

काठमाडौं- घोराही सिमेन्ट इन्डष्ट्रिजले गत आर्थिक वर्ष नोक्सानी ब्यहोर्नु परेको छ ।

कम्पनीले गत आर्थिक वर्ष १ अर्ब २१ करोड ८८ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको प्रतिवेदन सार्वजनिक गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । चुक्ता पुँजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ रहेको घोराही सिमेन्टको रिटेन्ड अर्निङ २ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यसको प्रतिशेयर नोक्सानी २६.६८ रुपैयाँ रहेको छ ।

प्रतिशेयर नेटवर्थ २०७।९३ रुपैयाँ छ । यस कम्पनीले आईपीओ जारी गर्दा प्रतिशेयर आम्दानी १६।३३ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको थियो । सगरमाथा ब्राण्डमा सिमेन्ट उत्पादन गरिरहेको घोराही सिमेन्ट इन्डष्ट्रीज लिमिटेडले १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँ प्रतिकित्तामा आईपीओ निष्कासन गरेको थियो ।

त्यतिबेला यसले आफ्नो विवरण पत्रमा भ्रामक तथ्य राखेको भन्दै आलोचना समेत भएको थियो । विवरण पत्रमै राखिएको प्रतिशेयर आम्दानीको प्रक्षेपण पनि गलत भएको उसकै रिपोर्टले पुष्टि गरेको छ । यस्तै कम्पनीको ४ अर्ब ६२ करोड रहेको सञ्चालन आम्दानी घटेर ४ अर्ब ४७ करोडमा झरेको छ । शेयर प्रिमियममा २ अर्ब ६५ करोड जम्मा छ । घोराहीको अहिले ६१५ रुपैयाँ प्रतिशेयर मूल्य रहेको छ ।

बुधबार, ३० साउन २०८१, ११ : ०७

प्रतिक्रिया