काठमाडौं- नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटगरी अटोमोबाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ ।
गत भाद्र १२ गते सम्पन्न सो भेटका क्रममा सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) का सहसभापति यसपाल साँच्चरको नेतृत्वमा काठमाडौमा आइपुगेको २५ सदस्सिय प्रतिनिधि मण्डल समेत संलग्न थियो । सो अवसरमा नेपाल र भारत बिच नेपालमा अटोमोबाइल उद्योग तथा व्यवसायको सन्दर्भमा संयुक्त लगानी गर्ने लगायतका विभिन्न विषयहरुका सम्बन्धमा विशेष छलफल गरिएको थियो ।
नाडा र सियामको सो संयुक्त प्रतिनिधिमण्डलले सोही दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र उद्योग, वाणिज्य तथा आपूतिमन्त्री दामोदर भण्डारीसँग पनि मन्त्रालयमा सोही विषयमा सार्थक छलफल गरेको थियो । सो प्रतिनिधि मण्डलमा धेरै जसो ठुला ठुला ओरिजिन इक्विपमेन्ट म्यानुफेक्चरर्स (ओईएम्स) को उपस्थिति सहित अटो उद्योगका सबै खण्डहरू (जस्तै यात्रुवाहक सवारी, व्यावसायिक सवारी र दुईपांग्रे सवारी साधन) को सहभागिता रहेको थियो ।
भ्रमणका क्रममा प्रतिनिधि मण्डलले भेटमा भारत र नेपालको अटो उद्योगमा भइरहेको विकासक्रम र दुई देशबीचको निरन्तर सहयोगको महत्वका बारेमा छलफल भएको थियो । सियाम र नाडाले अटो उद्योगका लागि भविष्यको पहल, प्रविधि श्रृंखला र तालिमका लागि संयुक्त रूपमा सहकार्य गर्न सहमति पनि गरेको थियो । उक्त छलफलमा सियामले नाडासँग मिलेर नेपाल सरकारलाई अटो क्षेत्रका लागि भिजन योजना विकास गर्न अनुरोध गरेको थियो । जसले सबै सरोकारवालाहरू जस्तै डिलर, उद्योग, कम्पोनेन्ट बिक्रेता इत्यादिलाई सरकारको दुरदृष्टि अनुरूप आफ्नो व्यवसायको योजना बनाउन सक्षम बनाउनेछ ।
नेपालमा सवारीसाधन दर्ता, संकलन र रिपोर्टिङका लागि बलियो योजनाको विकास गर्ने, सीप अभिवृद्धि र चालक तालिमका लागि संयुक्त कार्यक्रमहरू सिर्जना गर्ने सम्भावनाको खोजी गर्ने जस्ता विषयहरुमा छलफल गरेको थियो । नाडा र सियाम दुबैले बंगलादेश र श्रीलंकासँगै सन् २०२४ मा गठन भएको साउथ एसियन अटोमोटिभ फोरम ९साफ० लाई सुदृढ गर्दै भारत र नेपालको अटो क्षेत्रबीचको सम्बन्ध निर्माणमा नजिकबाट काम गर्न सहमत भएका छन् ।
नाडाले यस्तो भेटघाटबाट नेपाल भारतबिचको जनस्तरको सम्बन्ध समेत थप सुदृढ हुने र निकट भविष्यमै केही परिणाम समेत आउने अपेक्षा राखेको छ । उक्त प्रनिधिमण्डलमा नाडाको तर्फबाट उपाध्यक्षद्वय राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ, नाडाका सचिव विक्रम सिंघानिया, नाडाका केन्द्रीय कार्य समिति सदस्य निशान ढकाल, नाडाका एसोसिएसन सचिव सुरेन्द्र प्रधान र तालिम कोओर्डिनेटर आरजु श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया