काठमाडौं- भारतमा उत्पादन भएका इलेक्ट्रीक मोडल बीच पनि बजारमा राम्रै प्रतिस्पर्धा सुरू हुने दिन नजिकिएको छ । टाटाले बजारमा निकै राम्रो बिक्री पाइरहेको समयमा कियाले भारतमा बनेको पहिलो ईभी नेपाल ल्याएर प्रतिस्पर्धाको लागि तयार भएको देखिन्छ ।
साउन अन्तिममा आयोजना भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’मा किया सिरोस ईभीको बुकिङ खुल्नु र टाटा पन्च ईभी फेसलिफ्ट बिक्री सुरू हुँदा भारतमा उत्पादन भएका ईभी खोज्नेलाई विकल्प दिएको छ ।
कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले सिरोस ईभीको मूल्य ३७ लाख ९० हजार रुपैयाँ तोकेको छ । दशैं अगाडि गाडी दिने भन्दै लिइएको बुकिङमा सुरूवाती १०० वटा गाडी ३५ लाख ९० हजारमै दिने घोषणा गरेको थियो ।
टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले पन्च ईभी फेसलिफ्टको मूल्य ३३ लाख ९९ हजारदेखि ३७ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरेर बिक्री थालेको थियो । भदौ पहिलो साताबाटै उपभोक्तालाई दिन थालिएको पन्च ईभी अहिले पनि राम्रो संख्यामा बिक्री भइरहेको छ ।
कियाले भने अहिलेसम्म गाडी आयात नै गर्न सकेको छैन । दशैंमा गाडी पाउँछु भनेर बसेका उपभोक्ता निरास बन्ने अवस्था आइसकेको छ ।
आकर्षक डिजाइन, आधुनिक फिचर र दैनिक प्रयोगका लागि उपयुक्त आकारले यी दुईलाई एउटै मूल्य समूहका प्रतिस्पर्धी बनाएको छ । तर, कुन गाडी ग्राहकका लागि उपयुक्त छ भन्ने कुरा मूल्य र फिचर हेरेर मात्र हुँदैन ।
गाडीमा भएको ब्याट्रीको क्षमता, वास्तविक रेन्ज, चार्जिङ सुविधा, बिक्रीपछिको सेवा र कम्पनीको बजार उपस्थितिले पनि कुन किन्दा बढी फाइदा हुन्छ भन्ने हेर्नुपर्छ ।
ब्याट्री र रेन्ज
किया सिरोस ईभी ४२ किलोवाट आवरको ब्याट्रीमा नेपाल आउने छ । जबकि टाटा पन्चमा ३० र ४० किलोवाट आवरको दुई ब्याट्री अप्सन उपलब्ध छ ।
यदि, टाटा पन्चको ४० किलोवाट आवर क्षमताको ब्याट्रीसँग रेन्जको तुलना गर्दा किया सिरोसको रेन्ज केही किलोमिटर बढी आउन सक्छ । दुवै गाडीले लगभग २८० देखि ३२० किलोमिटरसम्मको रेन्ज दिन सक्छ । ईभीको रेन्ज मौसम, चालकको ड्राइभिङ ह्याबिट लगायतले फरक पार्छ ।

पावर र पर्फमेन्स
किया सिरोस ईभीको ४२ किलोवाट आवरको संस्करणमा १७१ पीएस क्षमताको विद्युतीय मोटर रहेको छ । यसले गाडीलाई पावर र एक्सेलेरेसनका हिसाबले आकर्षक बनाउँछ ।
टाटा पन्च ईभी फेसलिफ्टमा ४० किलोवाट आवरको संस्करणले १२९ पीएस पावर दिन्छ । जुन साइज र तौलमा टाटा पन्च ईभी उपलब्ध हुन्छ, यो पावर राम्रो नै लाग्छ ।
पन्च ईभीको क्याबिन
उपलब्ध तथ्यांक अनुसार पावरमा सिरोस ईभी अगाडि देखिन्छ । तर, मोटरको पावर मात्रै गाडीको समग्र ड्राइभिङ अनुभव निर्धारण गर्ने आधार होइन । तौल, टर्क, एक्सेलेरेसन, सस्पेन्सन र सडकको अवस्थाले पनि पर्फमेन्समा फरक पार्छ ।
चार्जिङमा दुवैका आफ्नै विशेषता
सिरोस ईभीले १०० किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । कम्पनीका अनुसार यसलाई ३९ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
टाटा पन्च ईभी फेसलिफ्टले ६५ किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने र १५ मिनेटको चार्जमा १३५ किलोमिटरसम्मको रेन्ज थप्न सकिने कम्पनीको दाबी छ ।
के छ क्याबिन फिचर
किया सिरोस ईभीको बेस भेरियन्ट भएको कारण धेरै ठूलो अपेक्षा गर्न सकिँदैन । तर, टाटा पन्च ईभीको टप स्पेककै मूल्य सिरोसको इन्ट्री भेरियन्टसँग मिल्ने भएकोले मूल्यको आधारमा पन्चको क्याबिन फिचर लोडेड लाग्छ ।
सिरोस ईभीको क्याबिन
किया सिरोसमा १२.३ इन्चको टचस्क्रीन, १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले छ । यसबाहेक वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, रियर एसी भेन्ट, इलेक्ट्रोनिक पार्किङ ब्रेक र रिजेनेरेटिभ ब्रेकिङका लागि प्याडल सिफ्टर उपलब्ध छन् ।
टाटा पन्च ईभी फेसलिफ्टमा १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रीन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ । यसमा वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार प्रविधि र ३६० डिग्री क्यामेराजस्ता फिचर उपलब्ध छन् ।
सुरक्षाका लागि दुवै गाडीमा विभिन्न इलेक्ट्रोनिक सुरक्षा प्रणाली र एयरब्याग जस्ता सुविधा छन् ।

ग्राउण्ड क्लियरेन्स
नेपाली सडकमा ईभी किन्दा रेन्ज र फिचरसँगै ग्राउण्ड क्लियरेन्स पनि महत्त्वपूर्ण हुन्छ । सिरोस ईभीको ग्राउण्ड क्लियरेन्स १९७ एमएम रहेको बताइएको छ । टाटा पन्च ईभीको भारतीय प्राविधिक विवरणमा अनलोडेड ग्राउण्ड क्लियरेन्स १९५ एमएम उल्लेख छ ।
दुवैको ग्राउण्ड क्लियरेन्स लगभग समान स्तरमा देखिन्छ । यसले सहरी सडकका खाल्डाखुल्डी, स्पीड ब्रेकर र सामान्य उबडखाबड बाटोमा उपयोगी हुन सक्छ ।
बिक्रीपछिको सेवा
ईभीको प्रतिस्पर्धामा गाडीको मूल्य र रेन्ज मात्र पर्याप्त हुँदैन । ब्याट्री वा इलेक्ट्रोनिक प्रणालीमा समस्या आएमा कहाँ मर्मत गर्ने, स्पेयर पाट्र्स कति छिटो उपलब्ध हुन्छ र गाडी कति समय वर्कवपमा रोकिन्छ भन्ने कुराले ग्राहकको सन्तुष्टि निर्धारण गर्छ ।
यस पक्षमा टाटा पन्च ईभीको बलियो आधार सिप्रदी ट्रेडिङको स्थापित बजार उपस्थिति हो । सिप्रदीले लामो समयदेखि नेपालमा टाटा गाडीको बिक्री, सर्भिस र स्पेयर पाट्र्सको कारोबार गर्दै आएको छ ।
सिप्रदीको स्थापित नेटवर्कले ग्राहकलाई नियमित सर्भिस, प्राविधिक सहयोग र पार्ट्सको उपलब्धता सम्बन्धी भरोसा दिन सक्छ ।
कियाको नेपालमा पनि आधिकारिक डिलर तथा बिक्री सञ्जाल छ । कन्टिनेन्टल ट्रेडिङले कियाका विद्युतीय मोडलहरू नेपालमा ल्याएको छ । कम्पनीले बिक्रीपछिको सेवा तथा वास्तविक स्पेयर पाट्र्स उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । तर, टाटाको तुलनामा कियाको ईभी सम्बन्धी सेवा पूर्वाधार निकै कमजोर छ । विगतका दुर्घटनामा १९ महिनासम्म कियाले गाडी मर्मत गर्न नसकेको इतिहास छ ।
कुन गाडी किन्ने ?
टाटा पन्च ईभी फेसलिफ्ट कम बजेटमा विद्युतीय एसयूभी खोज्ने, स्थापित बिक्री तथा सर्भिस नेटवर्कलाई प्राथमिकता दिने र दैनिक आवतजावतका लागि व्यावहारिक गाडी चाहने ग्राहकका लागि बलियो विकल्प हो ।
किया सिरोस ईभी बढी पावर, ठूलो डिस्प्ले सेटअप र ठूलो साइजको गाडी खोज्नेको लागि उपयुक्त हुनसक्छ ।
प्रतिक्रिया